Khabar Out
सरकारको ऋण २८ खर्ब ६ अर्ब ३९ करोड पुग्यो

काठमाडौँ । नेपालको सार्वजनिक ऋण २८ खर्ब नाघेको छ । चालु आर्थिक वर्ष २०८२/०८३ को सुरु हुँदा कुल सार्वजनिक ऋण २६ खर्ब ७४ अर्ब चार करोड रुपैयाँ रहेकोमा पुस मसान्तसम्ममा एक खर्ब ३२ अर्ब ३४ करोड थप वृद्धि भई २८ खर्ब छ अर्ब ३९ करोड पुगेको छ । हाल सरकारले तिर्न बाँकी कुल सरकारी ऋण कुल गार्हस्थ उत्पादनको ४५.९५ प्रतिशत बराबर हुन आउँछ ।

सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार गत कुल सार्वजनिक ऋणमा वैदेशिक ऋणको हिस्सा ५३ प्रतिशत अर्थात् १४ खर्ब ८७ अर्ब २६ करोड २२ लाख र आन्तरिक ऋणको हिस्सा ४७ प्रतिशतअर्थात् रु १३ खर्ब १९ अर्ब १३ करोड १० लाख छ । कुल गार्हस्थ उत्पादनको आधारमा आन्तरिक ऋणको अनुपात २१.६० र बाह्य ऋणको अनुपात २४.३५ प्रतिशत छ ।

सरकारले चालु आर्थिक वर्षका लागि पाँच खर्ब ९५ अर्ब बराबर सार्वजनिक ऋण उठाउने लक्ष्य राखेको छ । अर्धवार्षिक समीक्षा अवधिसम्ममा दुई खर्ब १४ अर्ब ५५ करोड प्राप्ति भइसकेको छ । जुन वार्षिक लक्ष्यको ३६ दशमलव ०२ प्रतिशत हुन आउँछ ।

पछिल्लो छ महिनामा सरकारले उठाएको ऋणमा आन्तरिक ऋणको हिस्सा ८२.८१ र बाह्य ऋणको हिस्सा १७.१९ प्रतिशत रहेको कार्यालयले जनाएको छ । सरकारले चालु आर्थिक वर्षका लागि तीन खर्ब ६२ अर्ब आन्तरिक ऋण उठाउने लक्ष्य राखेकोमा पुस मसान्तसम्ममा एक खर्ब ७७ अर्ब ६६ करोड ६९ लाख बराबर उठाइसकेको छ । त्यस्तै, बाह्य ऋणतर्फ दुई खर्ब ३३ अर्ब ६६ करोड ३१ लाख उठाउने सरकारी लक्ष्य रहेकोमा हालसम्म ३६ अर्ब ८९ करोड २२ लाख मात्रै उठाएको छ ।

सार्वजनिक ऋणको साँवा ब्याज भुक्तानीमा पनि पछिल्लो छ महिनामा ठुलो रकम खर्च भएको छ । सार्वजनिक ऋणको सावाँ ब्याज तिर्न सरकारले चालु आर्थिक वर्षका लागि चार खर्ब ११ अर्ब एक करोड बजेट विनियोजन गरेकोमा गत पुस मसान्तसम्ममा एक खर्ब ८७ अर्ब १२ करोड भुक्तानी भइसकेको छ । जसमध्ये आन्तरिक ऋणको सावाँ ब्याज भुक्तानीका लागि एक खर्ब ५५ अर्ब १३ लाख ५४ हजार र बाह्य ऋण तिर्न ३१ अर्ब ९९ करोड १२ खर्च भएको छ ।

त्यस्तै, आन्तरिक र बाह्य दुवै शीर्षकका ऋणको सावाँ भुक्तानीका लागि पछिल्लो छ महिनामा एक खर्ब ५२ अर्ब ८९ करोड र ब्याज भुक्तानीका लागि ३४ अर्ब २३ करोड खर्च भएको कार्यालयले जनाएको छ । कुल गार्हस्थ उत्पादनको आधारमा पुस मसान्तसम्मको कुल ऋण सेवा खर्च ३.०६ प्रतिशत हुन आउँछ । 

प्रकाशित मिति: मंगलबार, माघ ६, २०८२  २२:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update