Khabar Out
‘पर्वहरूले राष्ट्रिय एकता र सामाजिक सद्भाव मजबुत बनाउँछन्’

काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले चाडपर्वहरूले आपसी एकता, सद्भाव र सामाजिक सहअस्तित्वलाई सुदृढ बनाउने बताएका छन् । तामाङ समुदायले मनाउने सोनाम ल्होसारका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उनले प्रत जातजाति तथा धर्मावलम्बीका आफ्नै मौलिक सांस्कृतिक चाडपर्वहरूको संरक्षण गर्नुपर्नेमा जोड दिएका हुन् ।

नेपालीहरूले आफ्नै मौलिक पहिचानसहित मनाउने पर्वले आपसी एकता, सहकार्य, मित्रता र सहिष्णुतालाई अझ मजबुत बनाउन प्रेरणा प्रदान गर्ने विश्वास उनले व्यक्त गरे । उनले मुलुकको भौगोलिक, धार्मिक, सांस्कृतिक, जातीय तथा भाषिक विविधतालाई एकापसमा गाँसेर सामाजिक सद्भाव, राष्ट्रिय एकता र साझा नेपाली पहिचान निर्माण गर्न यस्ता पर्वहरूको महत्त्वपूर्ण योगदान रहेको विचार व्यक्त गरे ।

यसैबीच पूर्वप्रधानमन्त्री झलनाथ खनालले पनि ल्होसारका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि तथा प्रगतिको कामना गरेका छन् । नेपाल एक बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक मुलुक भएकाले सबै समुदायका मौलिक चाडपर्व तथा संस्कृतिको संरक्षण गर्नुपर्ने उनले उल्लेख गरे ।

विदेशी हस्तक्षेप र तोडफोडले देश थिलथिलो बनेको अवस्थामा देशका सबै जातजातिका जनता एकताबद्ध हुनुपर्नेमा खनालले जोड दिए । उनले मुलुकलाई अब सामाजिक न्याय र समानतासहितको समुन्नत समाजवाद निर्माणको बाटोमा दृढतापूर्वक अगाडि बढाउनुपर्ने धारणा राखेका छन् । रासस

प्रकाशित मिति: सोमबार, माघ ५, २०८२  १६:११
प्रतिक्रिया दिनुहोस्
Weather Update