वीरगञ्ज । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि पर्सामा निर्वाचन प्रहरी (म्यादी प्रहरी) को छनोट प्रक्रिया सुरु भएको छ । जिल्लाभरबाट आवेदन दिएका उम्मेदवारहरूको आजदेखि वीरगञ्जस्थित नारायणी रङ्गशालामा शारीरिक परीक्षण तथा अन्य छनोटका कामहरू अगाडि बढाइएको हो ।
पर्साका सहायक प्रमुख जिल्ला अधिकारी एवं निर्वाचन प्रहरी भर्ना छनोट तथा नियुक्ति समितिका संयोजक सुमनकुमार कार्कीले आज बिहानैदेखि छनोट प्रक्रिया सुरु गरिएको जानकारी दिएका छन् । उनका अनुसार यस पटक निर्वाचन प्रहरीमा सहभागी हुन चाहनेहरूको उत्साहजनक उपस्थिति देखिएको छ । छनोट प्रक्रियालाई पूर्ण रूपमा पारदर्शी र वस्तुपरक बनाउन नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना र राष्ट्रिय अनुसन्धान विभागको प्रत्यक्ष निगरानी र सुपरीवेक्षण रहने व्यवस्था मिलाइएको छ ।
जिल्लामा नेपाल प्रहरी र सशस्त्र प्रहरी दुवैतर्फ गरी कुल दुई हजार ८५२ जना निर्वाचन प्रहरीको माग गरिएको थियो । तर, मागको तुलनामा आवेदन दिनेहरूको सङ्ख्या निकै धेरै रहेको छ । नेपाल प्रहरीतर्फ दुई हजार ४६७ जनाको माग भएकोमा पाँच हजार ३९९ जनाले आवेदन दिएका छन् भने सशस्त्र प्रहरीतर्फ ३८५ जनाको मागमा ५७१ जनाको आवेदन परेको छ । छनोटका क्रममा उम्मेदवारहरूको दौड र अन्य शारीरिक गतिविधिलाई मुख्य आधार बनाइएको छ । रासस



