Khabar Out
एमालेको निर्वाचन लक्षित विशेष अभियान सुरु

काठमाडौँ । नेकपा (एमाले) ले पार्टीको संशोधित विधानअनुसार शक्तिशाली 'राजधानी विशेष कमिटी' घोषणा गरेको छ। शुक्रबार आयोजित एक विशेष कार्यक्रममा पार्टी अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा नयाँ कमिटीको घोषणा गर्दै एमालेले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि लक्षित विशेष अभियान समेत सुरु गरेको छ।

ललितपुरको गोदावरीमा सम्पन्न दोस्रो विधान महाधिवेशनको मर्मअनुसार काठमाडौँ उपत्यकाका जिल्ला कमिटीहरूलाई समेटेर प्रदेशस्तरको यो विशेष सङ्गठन संरचना बनाइएको हो। पुस २२ गतेको सचिवालय बैठकको निर्णयअनुसार यस कमिटीको नेतृत्व नारायण सिलवालले सम्हालेका छन्। कमिटीको उपाध्यक्षमा प्रेम महर्जन, सचिवमा मिलन धरेल तथा उपसचिवद्वयमा शशिजङ्ग थापा र वेलिमाया घले रहेका छन्।

पार्टीका सचिव डा. राजन भट्टराईलाई यो विशेष कमिटीको इन्चार्जको जिम्मेवारी दिइएको छ। अध्यक्ष ओलीले कमिटीका पदाधिकारीहरूलाई जिम्मेवारी सुम्पिँदै निर्वाचनको तयारीमा पूर्ण शक्तिसाथ लाग्न निर्देशन दिएका छन्। 

प्रकाशित मिति: शुक्रबार, माघ २, २०८२  २२:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update