Khabar Out
भक्तपुरमा सम्यक महादान पर्वको रौनक: दुई हजार भिक्षुलाई दान गरिँदै

भक्तपुर । भक्तपुरका बौद्ध धर्मावलम्बीहरूले दानमध्येको महादान मानिने 'सम्यक दान पर्व' हर्षोल्लासका साथ मनाउँदै छन्। नेपाल संवत् ७८७ भन्दा अघिदेखि नै प्रत्येक वर्ष माघ १ गतेका दिन मनाइँदै आएको यो ऐतिहासिक र धार्मिक पर्वका लागि भक्तपुरमा विशेष चहलपहल सुरु भएको छ। यस वर्ष करिब दुई हजार भिक्षुहरूलाई महादान गर्ने लक्ष्य राखिएको छ।

पर्वको अवसरमा पाँच दीपङ्कर बुद्धका मूर्तिहरूलाई भक्तपुर नगरको परिक्रमा गराइएको छ। परिक्रमापछि ती मूर्तिहरूलाई भक्तपुर नगरपालिका-१ स्थित जयकीर्ति महाविहार (ययुबही) परिसर भुइख्यमा मध्याह्नको समयमा ल्याएर बौद्ध परम्पराअनुसार सम्यक महादान कार्य गरिन्छ। दीपङ्कर बुद्धका मूर्तिहरूलाई थथुबहीमा विराजमान गराई बुद्ध ज्ञान प्राप्त शाक्य र बज्राचार्य भिक्षुहरूलाई प्रसाद, चामल, दक्षिणा र विभिन्न परिकारहरू दान दिने परम्परा रहेको छ।

सम्यक महादानमा गेँडागुडीका विभिन्न परिकारहरू जस्तै गोमाय, बालामाय, कसु, मुस्या र सागसब्जीका दर्जनौँ स्वादिला परिकारहरू बनाएर चढाउने गरिन्छ। साथै लड्डु, पुरी, घ्योचाक, चतामरी जस्ता मिठाई र पक्वान्नहरू पनि दानका लागि तयार पारिएको छ। ऐतिहासिक शिलापत्र अनुसार जयरत्न बज्राचार्यले आफ्ना दिवंगत पिता जयदेवको सम्झनामा नेपाल संवत् ७८७ मा विभिन्न विहारका भिक्षुहरूलाई निमन्त्रणा गरेर यो पर्वको जग बसालेका थिए।

यस वर्ष दान दिने पालो चिनियाकाजी बज्राचार्य परिवारको रहेको छ। यो पर्वलाई भव्य रूपमा सम्पन्न गर्न उनको परिवार र व्यवस्थापन समिति एक सातादेखि जयकीर्ति महाविहारमा आवश्यक सामग्री जुटाउन व्यस्त रहेको छ। दानको सुरुमा चतुब्र्रम्ह महाविहार सङ्घका कुलदेवता हेबज नैरात्मालाई भोजन दान दिइन्छ। त्यसपछि क्रमबद्ध रूपमा विभिन्न स्थानका दीपङ्कर बुद्ध, सुवर्ण चैत्य र लामबद्ध भएर बसेका सयौँ बज्राचार्य तथा शाक्यहरूलाई दान दिने प्रचलन छ। अघिल्ला वर्षहरूको तुलनामा यस वर्ष अवलोकनकर्ता र दान ग्रहण गर्नेहरूको संख्या बढ्ने अनुमान गरिएको छ । रासस

प्रकाशित मिति: बिहीबार, माघ १, २०८२  १०:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update