काठमाडौँ । सुन्धारास्थित जगन्नाथदेवल कारागारमा १० वर्ष कैद सजाय तोकिएका तीन जना कैदीबन्दी ‘हेडमास्टर’को परिचय बनाएर फर्कँदै छन् । त्यहाँस्थित महिला बन्दी विकास आधारभूत विद्यालय, भद्रबन्दी विकास आधारभूत विद्यालय र केन्द्रीय कारागारमा सञ्चालित जगन्नाथ माध्यमिक विद्यालयका प्रधानाध्यापक केही समयपछि कैदमुक्त हुन लागेका हुन् ।
कारागारभित्र असल चालचलन गरेबापत तोकिएको कैदी सजायमा केही माफी मिनाहा (छुट) पाएर उनीहरू जेलबाट निस्कन लागेका हुन् । आन्तरिक जेल प्रशासनको जिम्मेवारी बाँडफाँटअनुसार कैदीबन्दीको पठनपाठनका सन्दर्भमा विद्यालयको नेतृत्व गर्दै आएका उनीहरूलाई वार्षिक रूपमा ७२ दिन तोकिएको सजायमा माफी मिनाहा हुने गरेको छ ।
अपराध गरेबापत सजाय भुक्तानीका लागि जेल पर्नुअघि जस्तै अहिले बाहिर निस्कने बेला पनि उनीहरूलाई फेरि निद्रा लाग्न छाडेको छ । समाजमा पुगेपछि प्रारम्भिक दिनमा कसरी घुलमेल हुने भन्ने फिक्री एकातिर छ भने अर्कातर्फ दश वर्षसम्म सँगै खाई–खेली बसेका साथीभाइ तथा शिक्षक र विद्यार्थीको दैनिकीबाट अलग हुनुपर्दा चिन्ता बढेको छ ।
कतिपय परिबन्धमा परेकाबाहेक समाजमा नराम्रो कर्म गर्नेलाई थुनामा राख्न कारागार पठाइने भएकाले ‘जेल’ भन्नेबित्तिकै सबैको सातो जान्छ । “त्यो दिन अबेर भइसकेको थियो, जेलभित्र छिर्दै गर्दा पछुतो र अन्धकार जस्तै लाग्यो । पछि त्यहाँका नियमपालनमा अभ्यस्त भइयो । बाहिर कल्पना गरेको जस्तोभित्र कहालीलाग्दो स्थिति छैन,” कारागार प्रवेश गरेको क्षण सम्झँदै महिला विकास आधारभूत विद्यालयकी प्रधानाध्यापक भन्छिन्, “यहाँभित्र आन्तरिक प्रशासन छ, योग्यता र क्षमताअनुसार नाइके, भाइनाइके, चौकीदार हुँदै सरकारी तलबभत्ता खाने ‘हेडमास्टर’को जिम्मेवारी पाएँ, जुन मैले कल्पनासमेत गरेकी थिइनँ ।”
केन्द्रीय कारागारका प्रशासक कृष्णप्रसाद चापागाईंका अनुसार नेपाल सरकारकै पाठ्यक्रमअनुसार सञ्चालन हुँदै आएका तीनवटै विद्यालयको शैक्षिक अवस्था अब्बल छ । मुद्दा मामिला र पारिवारिक बिछोडको तनाव तथा निरन्तर अड्डा अदालत धाउनुपर्ने झन्झटका बीचमा पनि विद्यार्थीहरूको मेहनतका कारण विद्यालयले राम्रो नतिजा हासिल गरेको उनको भनाइ छ ।
जेनजी आन्दोलनका क्रममा केही कैदीबन्दी फरार भएपछि विद्यार्थी सङ्ख्या विगतको तुलनामा घटेको छ । साँघुरो ठाउँमा कोचाकोच गरेर बस्नुपरे पनि शिक्षक र विद्यार्थी सँगै बस्ने भएकाले सिक्न चाहनेका लागि भने जेलभित्र जुनसुकै बेला अनुकूल वातावरण रहेको बताइन्छ ।
कारागारभित्रका विद्यालयबाट गएको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा सहभागी २१ जनामध्ये छ जनाले ए–प्लस ल्याएका थिए भने उच्च माध्यमिक तहमा पनि सोही अनुपातको नतिजा आएको छ । मुद्दाका सिलसिलामा दिउँसो अदालत जानुपर्ने तथा केही बिरामी भएर अस्पताल जानुपर्ने भएकाले सबै विद्यालयमा बिहानको सत्रमा पढाइ हुँदै आएको छ ।
उमेर समूहका हिसाबले पनि यहाँका विद्यार्थी अभिलेखयोग्य छन् । अन्य विद्यालयमा बालिग नहुँदै पढाइ छाड्ने प्रवृत्ति देखिए पनि जेलमा भने १८ वर्ष उमेर नाघेकाले मात्र भर्ना पाउने व्यवस्था छ । भद्रबन्दी गृहमा हाल ८१ वर्षसम्मका विद्यार्थी अध्ययनरत छन् ।
भद्रबन्दी सुधार गृह, केन्द्रीयबन्दी सुधारगृह र महिलाबन्दी सुधारगृहमा गरी करिब ७०० विद्यार्थी रहेको भनिए पनि जेनजी आन्दोलनपछि त्यो सङ्ख्या घटेर करिब ३८० मा झरेको छ । शिक्षकको तलबभत्ता काठमाडौँ महानगरपालिकाबाट उपलब्ध हुँदै आएको छ ।
कारागारभित्रका विद्यालयमा शिक्षक र पाठ्यसामग्रीको उपलब्धता भए पनि पूर्वाधार र प्रविधिको प्रयोगमा भने सुधार आवश्यक देखिन्छ । विसं २०५३ मा स्थापना भएको महिला बन्दी विकास आधारभूत विद्यालयमा कक्षा पाँचसम्म पढाइ हुन्छ । यहाँका प्रधानाध्यापकका अनुसार ७९ विद्यार्थीमध्ये १८ देखि ७२ वर्ष उमेर समूहका छन् । कैद भुक्तानीसँगै विद्यार्थी बाहिरिने भएकाले सङ्ख्या घटबढ भइरहन्छ ।
जेनजी आन्दोलनअघि त्यस विद्यालयमा १५३ विद्यार्थी थिए । आन्दोलनपछि भागेका कैदी फर्कँदै आएसँगै विद्यार्थी सङ्ख्या फेरि बढ्दै गएको छ ।
जेलभित्र रहेर पनि बाहिरका विद्यालयसरह तलब सुविधा पाउनु र पाका विद्यार्थीबाट हेडमास्टरको सम्मान पाउनु प्रधानाध्यापकहरूका लागि विशेष अनुभूति बनेको छ । नाम लेख्न नजान्ने कतिपय कैदी अहिले कक्षा १२ को परीक्षामा सहभागी हुँदै छन् । महिला बन्दी विकास विद्यालयकी ७२ वर्षीया महिला यस पटक कक्षा १२ को तयारीमा छिन् । दुई स्वीकृत दरबन्दीको रकम बाँडेर आठ शिक्षिकाको व्यवस्था गरिएको छ ।
कक्षा ८ सम्म पढाइ हुने भद्रबन्दी विकास आधारभूत विद्यालयका पूर्वप्रधानाध्यापक रविन चालिसेका अनुसार विद्यालयमा १८ देखि ८१ वर्ष उमेर समूहका ८४ विद्यार्थी छन् । पढाइका लागि उमेर बाधक नहुने कुरा यसले पुष्टि गरेको उनी बताउँछन् । सरकारले २०१४ सालमै कैदीलाई औपचारिक शिक्षा दिन भद्रबन्दी विद्यालय स्थापना गरेको थियो । एक दशकमा १०० भन्दा बढी विद्यार्थी आधारभूत तह उत्तीर्ण भएका छन् ।
जेनजी आन्दोलनअघि त्यहाँ १७४ विद्यार्थी थिए । पाठ्यसामग्री र पाठ्यक्रम निःशुल्क उपलब्ध छ । एक स्वीकृत दरबन्दीसहित १० शिक्षक र एक सहयोगी कार्यरत छन् । विषयविज्ञ जनशक्ति उपलब्ध भएकाले शिक्षक अभाव छैन । तर प्रविधिको पहुँच नहुँदा समयानुकूल शिक्षा दिन कठिन भएको चालिसेको भनाइ छ ।
कक्षा १२ सम्म पढाइ हुने केन्द्रीय कारागारस्थित जगन्नाथ माध्यमिक विद्यालयका प्रधानाध्यापक उद्धव बस्नेतका अनुसार भदौ २४ अघि ३९६ विद्यार्थी थिए, अहिले २१६ छन् । फरार भएका कैदी फर्कने क्रम जारी छ । ६५ वर्ष उमेर समूहका विद्यार्थी पनि अध्ययनरत छन् । “२१ जना सहभागी एसइईमा छ जनाले ए–प्लस ल्याए,” बस्नेत भन्छन्, “नतिजा राम्रै छ ।”
२०१९ सालमा स्थापना भएको यो विद्यालय २०५३ सालदेखि एसएलसीमा सहभागी हुँदै आएको हो । प्रधानाध्यापकलाई सामुदायिक विद्यालयका तृतीय श्रेणी शिक्षकसरह तलब सुविधा दिइन्छ । नौ स्वीकृत दरबन्दी, तीन निजी स्रोत र एक करार शिक्षक कार्यरत छन् । मासिक छ दिन बराबर कैदमाफी छुट पनि दिइन्छ ।
जेलभित्र पाएको जिम्मेवारी र अवसरले जीवन र परिवारको आर्थिक अवस्था सहज भएको बस्नेत बताउँछन् । “जेलभित्र अराजकता हुन्छ भन्ने लाग्थ्यो,” उनी भन्छन्, “तर यहाँ शिक्षाको अवसर छ, लोकतान्त्रिक अभ्यास छ ।”
भौतिक संरचना साँघुरो र सेवा सुविधा कमजोर भएकाले सुधार आवश्यक रहेको औँल्याइएको छ । डिजिटल शिक्षाको पहुँच नहुँदा सुधार जरुरी देखिएको प्रधानाध्यापकहरूको भनाइ छ ।
कारागारभित्र शिक्षा लिएका कैदी पुनः अपराधमा फर्किने घटना नगन्य रहेको तथ्याङ्कले देखाउँछ । लागुऔषध, कर्तव्य ज्यान र जबर्जस्ती करणी मुद्दामा परेका युवाका लागि कलेज तहको पढाइको माग बढेको कारागार प्रशासनले जनाएको छ ।
देशभरका कैदीमध्ये केहीले औपचारिक शिक्षा, केहीले सीपमूलक काममार्फत आम्दानी गरिरहेका छन् । केन्द्रीय कारागारका प्रवक्ता वैकुण्ठराज रेग्मीका अनुसार पुरानो संरचना, कमजोर अनुदान, क्षमताभन्दा बढी कैदी र मिश्रित कैदी राखिनुले पुनःसंरचना आवश्यक भएको छ ।
केन्द्रीय कारागारमा उपचारका लागि करिब ९०० बिरामी आउने गरेका छन् । राज्यले कारागारलाई यातनागृह होइन, सुधारस्थलका रूपमा विकास गर्ने नीति लिएको छ । त्यसअनुसार शिक्षा र सीपमार्फत पुनःसमाजमा घुलमिल गराउने प्रयास भइरहेको छ ।
कारागार कार्यालय जगन्नाथदेवलअन्तर्गत केन्द्र बन्दीगृहमा १,५२६, भद्रबन्दीगृहमा १,०६२ र महिला बन्दीगृहमा २९० कैदी छन् । देशभरका ७५ कारागारमा करिब २७ हजार कैदीबन्दी छन् । फरारबाहेक २५,९१६ छन् । बालसुधार गृहमा १८ वर्षमाथिका ५८१ र कम उमेर समूहका ५७३ गरी १,१५४ बालबन्दी रहेको कारागार व्यवस्था विभागले जनाएको छ । रासस



