विश्वव्यापी वातावरणीय प्रणालीमा भइरहेका परिवर्तनले सन् २०२५ मा बाढी, खडेरी र अत्यधिक तापक्रमलाई तीव्र बनाउँदा धेरै मानिसको ज्यान गएको र सयौँ अर्ब अमेरिकी डलर बराबरको क्षति भएको एक नयाँ प्रतिवेदनले जनाएको छ ।
अस्ट्रेलियन नेसनल युनिभर्सिटी (एएनयू) को नेतृत्वमा तयार गरिएको सन् २०२५ ग्लोबल वाटर मोनिटर प्रतिवेदन अनुसार निरन्तर तापवृद्धिले वातावरण, जमिन र महासागरबीच गहिरो परिवर्तन ल्याएको छ, जसले समाजमा गम्भीर असर पारेको एएनयूको विज्ञप्तिमा उल्लेख छ ।
प्रतिवेदनका अनुसार सन् २०२५ मा पानीसँग सम्बन्धित प्राकृतिक विपत्तिका कारण करिब पाँच हजार जनाको मृत्यु भएको छ भने झन्डै ८० लाख मानिस विस्थापित भएका छन् । यस्ता विपत्तिबाट भएको आर्थिक क्षति ३६० अर्ब अमेरिकी डलर नाघेको बताइएको छ ।
बाढी, उष्णकटिबन्धीय चक्रवात, खडेरी र डढेलोजस्ता विपत्तिले ठूलो क्षति पुर्याएका छन् । यी घटनाले पानी, खाद्य तथा ऊर्जा प्रणालीमा श्रृंखलाबद्ध असर पार्दै संकटलाई अझ गहिरो बनाएको प्रतिवेदनमा उल्लेख छ ।
एएनयू फेनर स्कूल अफ इन्भाइरोनमेन्ट एन्ड सोसाइटीका प्राध्यापक अल्बर्ट भान डाइकका अनुसार पानीसँग सम्बन्धित प्रक्रियामा आएको परिवर्तनले विपत्तिहरू कुन समय र कुन स्थानमा हुने भन्ने कुरामा प्रत्यक्ष प्रभाव पारेको छ ।
उनका अनुसार सन् २०२५ मा बाढी, खडेरी र तापसम्बन्धी जोखिमहरू छोटो समयमै एउटै क्षेत्रमा पटक–पटक देखा परे, जसले तिनको संयुक्त प्रभावलाई झनै घातक बनाएको समाचारमा उल्लेख छ ।
प्रतिवेदनले वायुमण्डल, माटो र भू–जलको अवस्था, नदीको बहाव तथा सतही पानीको फैलावटमा आएको परिवर्तन सन् २०२५ का धेरै विनाशकारी जलवायु विपत्तिसँग नजिकबाट जोडिएको जनाएको छ ।
हिमालय क्षेत्रमा हिमताल फुटेर आएको बाढीदेखि भूमध्यरेखीय क्षेत्रमा आएका शक्तिशाली चक्रवातसम्मका विपत्ति असाधारण रूपमा उच्च तापक्रमसँग सम्बन्धित रहेको उल्लेख छ । युरोपमा अत्यधिक गर्मीका कारण मृत्यु र डढेलो बढेको छ भने दक्षिण तथा दक्षिणपूर्वी एसियामा मनसुनजन्य बाढीले व्यापक क्षति पुर्याएको छ ।
अनुसन्धानकर्ताले सन् २०२६ मा भूमध्यसागर क्षेत्र, अफ्रिकाको हर्न, ब्राजिल र मध्य एसियामा खडेरीको जोखिम बढ्ने चेतावनी दिएका छन् । साथै साहेल क्षेत्र, दक्षिणी अफ्रिका, उत्तरी अस्ट्रेलिया तथा एसियाका धेरै भागमा बाढीको सम्भावना उच्च रहने अनुमान गरिएको छ । रासस



