Khabar Out
प्रतिनिधिसभा निर्वाचन : सङ्खुवासभामा तयारी तीव्र

सङ्खुवासभा । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गरेर जिल्ला प्रशासन कार्यालयले सुरक्षा योजना तयार गरेको छ । निर्वाचनका लागि एकीकृत सुरक्षा योजनाका साथ जिल्लास्थित सुरक्षा निकाय परिचान गरिने छ ।

प्रमुख जिल्ला अधिकारी सिर्जना थपलियाले केन्द्रीय सुरक्षा योजना अनुसार नै जिल्लामा एकीकृत निर्वाचन सुरक्षा योजना तयार पारिएको जानकारी दिइन्। सुरक्षा संवेदनशीलता, भौगोलिक विकटता, यातायात र सञ्चारको असुविधा तथा यसअघिका निर्वाचनमा देखिएका घटनालाई हेरेर सुरक्षा रणनीति बनाइएको जनाइएको छ ।

उनले भनिन्, “सम्बन्धित पक्षसँगको समन्वय र सहकार्यमा निर्वाचनलाई निष्पक्ष,भयरहित र शान्तिपूर्ण वातावरण सम्पन्न गर्नेगरी सुरक्षा रणनीति तयार गरिएको छ ।” जिल्लामा सुरक्षा संवेदनशीलताको दृष्टिकोणले आठवटा मतदानस्थललाई अति संवेदनशील सूचीमा राखिएको छ । एक सय आठवटा मतदानस्थलमध्ये १९ मतदानस्थल सामान्य, ८२ संवेदनशील सूचीमा वर्गीकरण गरिएको छ।

अति संवेदनशील, संवेदनशील र सामान्य मतदानस्थलका आधारमा सुरक्षा रणनीति बनाइएको प्रजिअ थपलियाले बताइन् । भौगोलिक विकटता, सुरक्षा निकायको पहुँचदेखि टाढा, यातायात र सञ्चारको असुविधा यसअघिका निर्वाचनमा देखिएका घटनालाई हेरेर अति संवेदनशील, संवेदनशील र सामान्य गरी मतदानस्थल तथा केन्द्र छुट्याइएको प्रशासनले जनाएको छ । जिल्ला सुरक्षा समितिले आधाभन्दा धेरै मतदान केन्द्र तथा स्थलको निरीक्षणसमेत गरिसकेको जनाएको छ ।

निर्वाचन सुरक्षा योजनाअनुसार पहिलो घेरामा निर्वाचन प्रहरी र नेपाल प्रहरी, दोस्रो घेरामा सशस्त्र प्रहरी र तेस्रो घेरामा नेपाली सेना परिचालन हुने प्रजिअ थपलियाको भनाइ छ । त्यस्तै मतदानस्थल, मतदान केन्द्र लक्षित गरेर गस्ती पेट्रोलिङलगायतका काम पनि भइरहेको छ । स्वच्छ र भयरहित निर्वाचनका लागि नेपाली सेना, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभागको जनशक्ति गरी करिब दुई बढी सुरक्षाकर्मी परिचालन गरिने सुरक्षा समितिले जनाएको छ । सुरक्षा संवेदनशीलता हेरेर जिल्लामा तीनवटै सुरक्षा निकायका लागि थप जनशक्ति माग गरिएको छ ।

 

प्रकाशित मिति: मंगलबार, पुस २९, २०८२  ११:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update