Khabar Out
अस्ट्रेलियामा मेटाद्वारा पाँच लाख ५० हजार अकाउन्ट बन्द

काठमाडौं । अस्ट्रेलियाले बालबालिकाका लागि लागु गरेको ऐतिहासिक सामाजिक सञ्जाल प्रतिबन्धको केही समयमै मेटाले करिब पाँच लाख ५० हजार अकाउन्ट बन्द गरेको छ ।

गत डिसेम्बरदेखि लागु भएको नयाँ कानुनले इन्स्टाग्राम र फेसबुकसहित विश्वका लोकप्रिय सामाजिक सञ्जालहरूलाई १६ वर्षमुनिका अस्ट्रेलियाली नागरिकहरूलाई अकाउन्ट खोल्न वा राख्न दिन रोक लगाएको छ ।

विश्वभर निकै चासोका साथ हेरिएको यो प्रतिबन्धलाई अभियानकर्ता र सरकारले बालबालिकालाई हानिकारक सामग्री र अल्गोरिदमबाट जोगाउन आवश्यक कदमका रूपमा व्याख्या गरेका छन् ।

मेटालगायतका कम्पनीहरूले युवालाई अनलाइनमा सुरक्षित राख्न थप प्रयास आवश्यक रहेकोमा सहमति जनाएका छन् । यद्यपि, उनीहरूले पूर्णप्रतिबन्धको सट्टा अन्य उपायहरू अपनाउनुपर्ने तर्क गरिरहेका छन् । केही विज्ञहरूले पनि यस्तै चिन्ता व्यक्त गरेका छन् ।

मेटाले आफ्नो ब्लग अपडेटमा भनेको छ, “हामी अस्ट्रेलियाली सरकारलाई उद्योगसँग रचनात्मक रूपमा संलग्न हुन आह्वान गर्दछौँ । पूर्णप्रतिबन्धको सट्टा सुरक्षित, गोपनीयता जोगाउने र उमेरअनुकूल अनलाइन अनुभव प्रदान गर्न सम्पूर्ण उद्योगलाई प्रोत्साहित गर्नेजस्ता उत्तम विकल्पहरू खोजिनुपर्छ ।”

नयाँ कानुनको पालना गर्ने क्रममा पहिलो हप्तामा मेटाले निम्न संख्यामा अकाउन्टहरू बन्द गरेको जानकारी दिएको छ । यसअन्तर्गत इन्स्टाग्रामका तीन लाख ३० हजार ६३९, फेसबुकका एक लाख ७३ हजार ४९७ र थ्रेड्सका ३९ हजार ९१६ अकाउन्ट बन्द गरिएका छन् ।

कम्पनीले उमेर प्रमाणीकरणको काम ‘एप स्टोर’को तहमा हुनुपर्ने अडान दोहोर्‍याएको छ । उनीहरूको तर्क के छ भने यसले नियामक र एप दुवैको भार कम गर्छ । साथै, अभिभावकको अनुमति भएमा प्रयोग गर्न पाउने व्यवस्था हुनुपर्ने उनीहरूको भनाइ छ ।

मेटाका अनुसार, “जुनसुकै एप प्रयोग गरे पनि युवाको सुरक्षा सुनिश्चित गर्ने र बालबालिकाहरू प्रतिबन्धबाट बच्न नयाँ–नयाँ एपमा सर्ने समस्याको समाधान गर्ने यो मात्र एक प्रभावकारी उपाय हो ।”

अमेरिकी राज्य फ्लोरिडादेखि युरोपेली संघसम्मका विभिन्न सरकारहरूले बालबालिकाको सामाजिक सञ्जाल प्रयोगमा सीमा तोक्ने प्रयास गरिरहेका छन् । तर, अस्ट्रेलिया १६ वर्षको उच्च उमेर सीमा तोक्ने र अभिभावकको अनुमति भए पनि प्रयोग गर्न नपाउने विश्वकै पहिलो र सबैभन्दा कडा कानुन भएको देश बनेको छ ।

यो नीति अभिभावकहरू माझ निकै लोकप्रिय छ । विश्वका अन्य नेताहरूले पनि यसप्रति चासो देखाएका छन् । बेलायतको कन्जरभेटिभ पार्टीले पनि सन् २०२९ अघि हुने अर्को चुनावमा सत्तामा आए यस्तै नियम लागु गर्ने वाचा गरेको छ ।
केही विज्ञहरूले भने अस्ट्रेलियाली बालबालिकाहरूले उमेर जाँच गर्ने प्रविधिलाई छल्दै वा इन्टरनेटका अन्य कम सुरक्षित स्थानहरूमा भेला भएर यो प्रतिबन्धलाई सजिलै छल्न सक्ने चिन्ता व्यक्त गरेका छन् ।

यो नियमले युवालाई एकअर्कासँगको सम्पर्कबाट टाढा राख्ने बताइएको छ । विशेष गरी न्युरोडाइभरजेन्ट वा ग्रामीण समुदायका बालबालिका यसबाट बढी प्रभावित हुने र भविष्यमा इन्टरनेटको वास्तविकतासँग जुध्न उनीहरू कम सक्षम हुने केही सरोकारवालाहरूले दाबी गरेका छन् । बीबीसी

प्रकाशित मिति: सोमबार, पुस २८, २०८२  १०:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update