दमौली । तनहुँको आबुँखैरेनी गाउँपालिका–५, दुन्द्राङबेँसीस्थित त्रिशूली नदी किनारमा फेला परेको बसको आज पनि उत्खनन गरिने भएको छ । नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरोले बगाएर त्रिशूली नदीमा खसेको बसको आशंका गरिएको अवशेष आइतबार (पुस २७) भेटिएपछि उत्खनन गरिएको थियो ।
नेपाल प्रहरी र सशस्त्र प्रहरीले आइतबार दिनभर बसको उत्खनन गरेका थिए । आज पनि उक्त कार्य जारी रहने जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार, त्रिशूली नदी किनारमा एउटा बसको अगाडिको केही भाग पुरिएको अवस्थामा फेला परेको थियो ।
त्यो ०८१ असार २८ गते चितवनको भरतपुर महानगरपालिका–२९ अन्तर्गत सिमलताल क्षेत्रमा काठमाडौंबाट गौरतर्फ जाँदै गरेको वाग्मती प्रदेश ०३–००१ख२४९५ नम्बरको गणपति डिलक्स लेखिएको बस हुन सक्ने जिल्ला प्रहरी कार्यालय तनहुँका डीएसपी श्रवणकुमार विकले बताए ।
बस नदी किनारमा पुरिएको अवस्थामा देखिए पनि पूर्ण रूपमा यकिन हुन नसकेको उनले जानकारी दिए ।
हाल पुरिएको बस उत्खनन गर्ने कार्य तथा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ । रासस



