Khabar Out
राष्ट्रिय सहकारी महासंघको ३३ औं वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं । राष्ट्रिय सहकारी महासंघको ३३ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । 

साधारण सभाको उद्घाटन गर्दै वन तथा वातावरण मन्त्री माधवप्रसाद चौलागाईंले सहकारी अभियानले देशको ग्रामिण भेगका आम मानिसको आर्थिक जिवनस्तर उकास्न योगदान पुरयाएको सहकारी क्षेत्रलाई केहि निहित स्वार्थ बोकेका व्यक्तिले बदानाम गराएको हुदा त्यस्ता व्यक्तिलाई तीन दशक भन्दा बढि योगदान पुर्याएका सहकारी अभियान्ताले नै कारवाही गराउन अग्रसर भई सहकारीलाई पारदर्शी, उत्तरदायी र विश्वासयोग्य बनाउँदै आर्थिक समृद्धिमा यसको भूमिकालाई अझ सुदृढ गर्नुपर्ने आवश्यकता रहेको बताए । 

त्यस्तै साधारण सभामा सहकारी विभागका रजिष्ट्रार सुशील ढकालले सहकारी अभियानसँग हातेमालो गर्दै देखिएका समस्या समाधान गर्न पहल गर्ने प्रतिबद्धता व्यक्त गरे ।  सहकारीप्रति जनविश्वास कायम राख्न प्रभावकारी अनुगमन र नीतिगत सुधार अपरिहार्य रहेको उनको भनाइ थियो ।

उद्घाटन कार्यक्रममा महासंघका संस्थापक अध्यक्ष तथा सल्लाहकार दीपकप्रकाश बाँस्कोटाले सहकारी ऐन बमोजिम सञ्चालित कुनै सहकारी संस्था समस्यामा नआएको बताए । सहकारीका समस्यालाई केन्द्रमा राखेर समाधानको बाटो अवलम्बन गर्नुपर्नेमा सरकार झारोटार्ने काममा मात्र सिमित रहेको पनि बाँस्कोटाले बताए । सहकारी विभागले नै गर्ने काम गर्न अर्को राष्ट्रिय सहकारी नियमन प्राधिकरण गठन गरेर झुक्याएको बाँस्कोटाको भनाई थियो ।

त्यसैगरी कार्यक्रममा अन्य सल्लाहकार केशव बडाल, माननीय खगराज अधिकारी, देवन्द्रराज कडेल, लिलामणि पौडेल, गणेश शाह र उषा झा लगायतले सहकारी अभियानलाई सशक्त रूपमा अगाडि बढाउन महासंघले खेल्नुपर्ने नेतृत्वदायी भूमिकाबारे धारणा राखेका थिए । उनीहरूले वर्तमान अवस्थामा सहकारी क्षेत्रमाथि बढ्दै गएको दबाब, विश्वासको संकट तथा नीतिगत अस्पष्टताका बीच महासंघको सशक्त नेतृत्व अपरिहार्य रहेको बताए ।

कार्यक्रममा महासंघका कार्यवाहक अध्यक्ष रमेश पोखरेलले महासंघको प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए भने उपाध्यक्ष डीबी बस्नेतले महासंघको विनियम संशोधन प्रस्ताव पेश गरेका थिए । त्यसैगरी उपाध्यक्ष इन्दिरा पन्तले महासंघको भावी कार्यक्रम तथा बजेट प्रस्तुत गरेकी थिइन। त्यस्तै महासंघका महाप्रबन्धकले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

साधारण सभाले सहकारी क्षेत्रको सुदृढीकरण, नीतिगत सुधार, पारदर्शिता र विश्वास पुनःस्थापनाका लागि महासंघले अझ प्रभावकारी भूमिका खेल्नुपर्ने निष्कर्ष निकालेको छ । सभाले सहकारी अभियानलाई थप मजबुत बनाउँदै राष्ट्रिय अर्थतन्त्रमा यसको योगदान विस्तार गर्ने प्रतिबद्धता समेत व्यक्त गरेको छ ।

प्रकाशित मिति: आइतबार, पुस २७, २०८२  २२:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update