Khabar Out
राष्ट्रिय एकता कमजोर हुँदै जाँदा बाह्य चलखेल बढ्यो : अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आवश्यकता अनुसार विभिन्न मुद्दामा लोकतान्त्रिक शक्तिहरूसँग सहकार्य गर्न तयार रहेको बताएका छन् । शनिबार (पुस २६) च्यासलमा केन्द्रीय कमिटी बैठकमा उनले यस्तो बताएका हुन् ।

एमाले निर्वाचनमा स्वस्थ प्रतिस्पर्धामा विश्वास राख्ने पार्टी भएको उनले उल्लेख गरे । उनले मुलुकका सामु उत्पन्न चुनौती अन्त्य नभइसकेको भन्दै लोकतन्त्र अझै संकटमा रहेको बताए ।

“हाम्रो पार्टी निर्वाचनमा स्वस्थ प्रतिस्पर्धा र आवश्यकताअनुसार विभिन्न मुद्दाहरूमा लोकतान्त्रिक शक्तिहरूका साथ सहकार्य गर्दै अगाडि बढ्न तत्पर छ । यसका निम्ति उपरोक्त शक्तिहरूलाई म आज र यस ठाउँबाट पनि आह्वान गर्दछु,” उनले भने ।

संविधान मिचिएको, जननिर्वाचितको ठाउँमा संविधानबाहिरको अनिर्वाचित सरकार रहेको उनले टिप्पणी गरे । समाज अराजकता, निषेध र हिंसाको धम्कीबाट अझै पनि त्रस्त रहेको उनले बताए ।

“मुलुकका सामु उत्पन्न चुनौती अन्त्य भइसकेका छैनन् । लोकतन्त्र संकटमा छ । संविधान मिचिएको अवस्थामा छ । जननिर्वाचित सरकारको ठाउँमा संविधानबाहिरको अनिर्वाचित सरकार छ,” उनले भने, “समाज अराजकता, निषेध र हिंसाको धम्कीबाट अझै पनि त्रस्त छ ।”

राष्ट्रिय एकता कमजोर हुँदै जाँदा बाह्य चलखेलको जोखिम बढेको उनले औँल्याए । “राष्ट्रिय एकता कमजोर हुँदै जाँदा बाह्य चलखेलको जोखिम बढेको छ । राष्ट्रिय हितको रक्षामा नयाँ चुनौती थपिएका छन् । मुलुकमा केही पनि भएन भनेर जबर्जस्त सिर्जना गरिएको नकारात्मक भाष्य छ,” उनले भने, “युवाहरूमा निराशा र अन्योल छ । समाजमा भ्रम र द्विविधाको अवस्था छ ।” न्युज एजेन्सी नेपाल

प्रकाशित मिति: शनिबार, पुस २६, २०८२  २१:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update