Khabar Out
ट्राफिक सप्ताह तथा सवारी दुर्घटना न्यूनीकरण विशेष अभियानको शुभारम्भ

काठमाडौं । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथको आयोजनामा “ट्राफिक सप्ताह तथा सवारी दुर्घटना न्यूनीकरण विशेष अभियान २०८२”को शनिबार समुद्‍घाटन भएको छ । नेपाल प्रहरी संगठनका प्रमुख प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले पानसमा दीप प्रज्वलन गरी कार्यक्रमको समुद्‍घाटन गरेका हुन। 

ट्राफिक सप्ताहको सफलताको शुभकामना दिदै प्रहरी महानिरीक्षक कार्कीले ट्राफिक नियमलाई दण्ड जरिवानाको डरले होइन, आफ्नो जीवनको मूल्य बुझेर पालना गर्न सम्पूर्ण सडक प्रयोगकर्तालाई अनुरोध गरे।

बसन्तपुर डबलीबाट सुरु भएको जनचेतनामूलक र्‍याली काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा कार्यक्रममा परिणत भएको थियो । “सभ्य नागरिकको चिनारी, सडक दुर्घटना न्यूनीकरण हामी सबैको जिम्मेवारी” भन्ने नाराका साथ आजबाट माघ ३ गतेसम्म संचालन हुने ट्राफिक सप्ताहमा पैदलयात्रुलाई सुरक्षित तरिकाले बाटो काट्न सिकाउने, दुई पाङ्ग्रे सवारी साधन लक्षित जनचेतनामूलक कार्यक्रम, कलेज तथा स्कुल सम्पर्क कार्यक्रम, रात्रिकालिन सवारी चालक र परिचालकलाई सचेतनामूलक कार्यक्रम लगायत विभिन्न ट्राफिक सम्बन्धी कार्यक्रमहरू संचालन हुनेछन् ।

यसैगरी प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले ट्राफिक एफ एम ९५।५ मेगाहर्जको पनि उद्‍घाटन गरेका छन । गत भाद्र २३ र २४ गतेको जेन्जी आन्दोलन पश्चात पुगेको भौतिक क्षतिका कारण रोकिएको प्रसारण आजबाट नियमित रुपमा पुनस् प्रसारण‌ सुरु भएको छ । यसैगरी आजै ट्राफिक प्रहरी कर्मचारीहरूलाई इन्फ्लुइन्जा खोप कार्यको पनि शुभारम्भ गरिएको छ ।

यस्तै Nepal Automobile Impoters And Manufacturers Association ( NAIMA ) सँग ट्राफिक कर्मचारीका लागि सञ्चालन गरिने अनु शिक्षण तालिमका लागि पनि सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

कार्यक्रममा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयद्वारा तयार पारिएको वृत्तचित्र र ट्राफिक सचेतनामूलक गीतमा नृत्य समेत प्रस्तुत भएको थियो ।

कार्यक्रममा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय तथा ट्राफिक एफ एमको भवन निर्माणमा योगदान पुर्‍याउनु हुने महानुभावहरूलाई कदर(पत्रद्वारा
सम्मान गरिएको थियो ।

काठमाडौँ महानगरपालिकाकी उप( प्रमुख सुनिता डंगोल, वरिष्ठ हाँस्य कलाकार हरिवंश आचार्य, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजय स्वाँर र अखिल नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका अध्यक्ष दिपक केसीले ट्राफिक सप्ताह सफलताका लागि शुभकामना मन्तव्य राखेका थिए।

त्यसैगरी कार्यक्रममा काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरीक्त महानिरीक्षक ईश्वर कार्कीले धन्यवाद ज्ञापन राखेका थए । त्यस्तै काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले स्वागत मन्तव्य राखेका थिए ।

सडकमा हुने सानो लापरबाहीले ठूलो दुर्घटनाको रुप लिन सक्छ भन्ने यथार्थ हामी सबैको लागि चिन्ताको विषय बनेको यथार्थलाई आत्मसाथ गरी सुरक्षित सडक संस्कारको विकास गर्दै सडक दुर्घटनाबाट हुने जनधनको क्षतीलाई न्यूनीकरण गर्ने उद्देश्यले ट्राफिक सडक सुरक्षा कार्यक्रमको आयोजना गरिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरिक्षक नरेश राज सुवेदीले जानकारी दिए।

कार्यक्रममा शसस्त्र प्रहरीका प्रहरी अतिरिक्त महानिरीक्षक, नेपाल प्रहरीका प्रहरी नायव महानिरीक्षकहरू, नेपाली सेनाका महासेनानी,प्रहरी वरिष्ठ उपरीक्षकहरू, काठमाडौँ महानगरपालिकाका विभिन्न वडाका अध्यक्ष,तथा सामुदायिक सेवा केन्द्रका अध्यक्षहरू, यातायात व्यवसायी, विद्यार्थी, सञ्चारकर्मी लगायतको उपस्थिती रहेको थियो ।

प्रकाशित मिति: शनिबार, पुस २६, २०८२  १७:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update