काठमाडौं । दुर्घटना न्यूनीकरण विशेष अभियान तथा ट्राफिक सप्ताह २०८२ को पूर्व सन्ध्याको अवसरमा सडक दुर्घटना पिडितको सहयोगार्थका लागि काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
आज बिहान ९ बजेदेखि अपरान्ह ४ बजेसम्म सञ्चालन भएको रक्तदान कार्यक्रममा एक सय ३९ जनाले रक्तदान गरेका थिए । कार्यक्रममा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरिक्षक नवराज अधिकारीले रक्तदान गरी कार्यक्रमको सुरुवात गरिएको थियो ।
जसमा काठमाडौँ उपत्यकामा कार्यरत प्रहरी कर्मचारी, शसस्त्र प्रहरी, महानगर प्रहरी लगायत केही सर्वसाधरणहरुले समेत रक्तदान गरेका थिए । नेपाल प्रहरी अस्पतालको प्राविधिक सहयोगमा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय परिसरमा रक्तदान कार्यक्रमको आयोजना गरिएको हो ।
त्यसैगरी यहि पौष २६ गतेदेखि माघ ३ गतेसम्म “दुर्घटना न्यूनीकरण विशेष अभियान तथा ट्राफिक सप्ताह २०८२” सुरु हुने सञ्चालन हुने भएको छ । उक्त कार्यक्रमको अवसरमा पैदलयात्रुलाई सुरक्षित तरिकाले बाटो काट्न सिकाउने, दुई पाङ्ग्रे सवारी साधन लक्षित जनचेतनामूलक कार्यक्रम, कलेज तथा स्कुल सम्पर्क कार्यक्रम, रात्रिकालिन सवारीका चालक र परिचालकलाई सचेतना कार्यक्रम लगायतका विभिन्न ट्राफिक सम्बन्धी कार्यक्रमहरु हुने काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी उपरीक्षक नरेशराज सुवेदीले बताए ।



