Khabar Out
सुनसरीमा पाँच लाख ८० हजार ९४५ मतदाता कायम

सुनसरी । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जिल्लामा पाँच लाख ८० हजार ९४५ जना मतदाता कायम भएका छन् । जिल्लाका १२ स्थानीय तहमध्येबाट दुई लाख ९४ हजार २५२ पुरुष, दुई लाख ८६ हजार ६९१ महिला र दुई जना तेस्रो लिङ्गी मतदाता कायम भएका हुन् ।

जिल्ला निर्वाचन कार्यालयका अनुसार प्रतिनिधिसभाका लागि चार निर्वाचन क्षेत्र तोकिएका छन् । जिल्लाभर जम्मा १६७ मतदानस्थल र ६२४ मतदान केन्द्र निर्धारण गरिएको कार्यालयका प्रमुख कृष्ण पौडेलले जानकारी दिए । उनका अनुसार सबैभन्दा बढी निर्वाचन क्षेत्र नं २ मा एक लाख ५६ हजार ९९० मतदाता छन् भने सबैभन्दा कम एक लाख ३४ हजार ३०२ मतदाता कायम भएका छन् ।

निर्वाचन आयोगका अनुसार मतदाता नामावली अद्यावधिकपछि उक्त तथ्याङ्क सार्वजनिक गरिएको हो । आगामी निर्वाचनलाई लक्षित गर्दै मतदाता शिक्षालगायत तयारीका कार्यक्रम अघि बढाइएको जिल्ला निर्वाचन कार्यालय प्रमुख पौडेलले बताए । 

आगामी निर्वाचनका लागि सङ्घीय सरकारले सुनसरीमा मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतहरू खटाइसकेको छ । प्रकाश राउतलाई मुख्य निर्वाचन अधिकृत तोकिएको छ । रासस

प्रकाशित मिति: बुधबार, पुस २३, २०८२  १६:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update