काठमाडौं । अमेरिकाका उपराष्ट्रपति जेडी भान्सको ओहायो राज्यको सिनसिनाटीमा रहेको घरमा आक्रमण भएको छ । उनका घरका झ्यालहरू फुटेका छन् ।
प्रहरीले एकजनालाई हिरासतमा लिएको सीएनएनले जनाएको छ । भान्सको घरनजिक आइतबार राति १२ः१५ बजे एकजनालाई भाग्दै गरेको देखिएको थियो ।
अधिकारीहरूका अनुसार, घटना हुँदा जेडी भान्स र उनको परिवारका सदस्य घरमा थिएनन् । प्रारम्भिक जानकारीअनुसार हिरासतमा लिइएका व्यक्ति उपराष्ट्रपतिको घरभित्र प्रवेश गर्न सफल नभएको बताइएको छ ।
छानबिन एजेन्सीहरूले यो घटना जानाजानी जेडी भान्स वा उनका परिवारलाई निशाना बनाएर गरिएको हो वा यस पछाडि अर्को कारण छ भन्नेबारे पत्ता लगाउने प्रयास गरिरहेको बताएका छन् ।
भान्स एक हप्तादेखि सिनसिनाटीमा भए पनि आइतबार दिउँसो सहरबाट प्रस्थान गरेका थिए । २.३ एकड क्षेत्रमा फैलिएको उनको घर करिब १४ लाख डलर खर्च गरेर बनाइएको छ ।
सिक्रेट सर्भिस र प्रहरीलाई धन्यवाद
आक्रमणको सम्बन्धमा भान्सले सामाजिक सञ्जालमा पोस्ट गर्दै आफ्नो घरमा भएको घटनाप्रति व्यक्त गरिएको चिन्ताका लागि सबैलाई धन्यवाद दिएका छन् । उनले मानसिक रूपमा अस्थिर एक व्यक्तिले घरभित्र घुस्ने प्रयास गरेको र त्यस क्रममा झ्यालहरूमा हथौडाले आक्रमण गरेको बताएका छन् ।
भान्सले भने, “म सिक्रेट सर्भिस र सिनसिनाटी प्रहरीप्रति कृतज्ञ छु, जसले तुरुन्त कारबाही गरेर अवस्थालाई नियन्त्रणमा लिए । घटना हुँदा म र मेरो परिवार घरमा थिएनौँ । हामी पहिल्यै वाशिंगटन डीसी फर्किसकेका थियौँ ।”
उनले मिडियासँग यस्ता घटना बच्चाहरूलाई नदेखाउन आग्रह गरेका छन् । उनले आफ्नो घरका फुटेका झ्यालहरूको तस्बिर बारम्बार नदेखाइदिन अपिल गरेका छन् ।
परिवारसँग ओहियोमा बस्छन् जेडी भान्स
ह्वाइट हाउसको वेबसाइटअनुसार जेडी भान्स आफ्नो परिवारसँग ओहियोको सिनसिनाटी सहरमा बस्छन् । उनको जन्म २ अगस्ट १९८४ मा अमेरिकाको ओहियो राज्यमा स्कट–आयरिस परिवारमा भएको थियो ।
जेडी, उनकी आमा बेभर्ली एकिन्सका दोस्रो पति डोनाल्ड बोमनका सन्तान हुन् । जेडीको जन्मका बेला उनका अभिभावकहरू आर्थिक अभावबाट संघर्ष गरिरहेका थिए । त्यसैले जेडीको बाल्यकाल गरिबीमा बितेको थियो ।
जेडी केही महिनाका मात्र हुँदा उनका अभिभावकहरूको सम्बन्धविच्छेद भएको थियो । त्यसको दुई वर्षपछि बेभर्लीले बब हैमेलसँग विवाह गरिन् । यसबीच, पैसाको अभावका कारण जेडीकी आमा बेभर्लीलाई लागुऔषध र मदिराको लत लागेको थियो ।
यस्तो अवस्थामा जेडीले आफ्नो बाल्यकाल नाना जेम्स भान्स र नानी बोनी भान्ससँग बिताए । आफ्नो बाल्यकालमाथि लेखिएको पुस्तक ‘हिलबिली एलर्जीः ए मेमोयर अफ ए फेमिली एन्ड कल्चर इन क्राइसिस’ मा जेडी लेख्छन्, “मलाई मेरी आमाको बारम्बार घर परिवर्तन गर्ने बानी मन पर्दैनथ्यो । मलाई हजुरबुबा–हजुरआमाको घरमै बस्न राम्रो लाग्थ्यो ।” सीएनएनबाट



