Khabar Out
चितवनमा ८० हजार पशुलाई खोरेत बिरुद्धको खोप

चितवन । चितवनमा ८० हजार पशु चौपायालाई खोरेतविरुद्धको खोप लगाइने भएको छ । यहाँ पालिएका पशु चौपायामा खोरेतको समस्या देखिएपछि खोरेतविरुद्धको खोप लगाउन लागिएको हो ।

पशु सेवा कार्यालय चितवनका प्रमुख डा.प्रभात न्यौपानेका अनुसार कार्यालयमा उपलब्ध ८० हजार डोज खोप जिल्लाका सबै पालिकामा बितरण गरिएको छ । जिल्लामा एक लाख गाई भैँसी पालिएको उनले बताए । मङ्सिरमा रत्ननगर नगरपालिका र भरतपुर महानगरमा पालिएका पशुमा खोरेतको समस्या देखिएको थियो ।

खोरेत रोग भाइरसका कारण सर्ने गर्दछ । यो रोग लागेका गाईभैँसीमा दुई देखि तीन दिन १०४ डिग्री ज्वरो आउने, जिब्रोको छाला जाने, गर्भ तुहिने, दूध घटाउने, खुट्टामा घाउ हुने, दाना पानी नखाने जस्ता लक्षण देखिने उनले जानकारी दिए । यो रोग गाई, भैँसी र बङ्गुरमा बढी देखिन्छ ।

बाहिरबाट खरिद गरेर जिल्लामा ल्याइने पशुलाई २१ दिन क्वारेन्टिनमा राखिन्छ । उनले थपे, “सङ्क्रमण देखिएका पशुहरूलाई समेत छुट्टै राखेर उपचार गर्नुपर्छ ।” जङ्गली जनावारहरूबाट पनि सर्न सक्ने भएकाले चरनका लागि लैजाने गाईभैँसीमा बढी यसको सङ्क्रमण देखिने गरेको उनले बताए । रासस

प्रकाशित मिति: सोमबार, पुस २१, २०८२  १६:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update