Khabar Out
विश्वव्यापी उत्पादन घट्दा टोयोटाको बिक्रीमा पनि असर

अमेरिका । विश्वकै सबैभन्दा ठूलो अटोमोबाइल निर्माता ‘टोयोटा मोटर कर्पोरेसन’ ले नोभेम्बर महिनामा आफ्नो विश्वव्यापी उत्पादन ५.५ प्रतिशतले घटेर आठ लाख २१ हजार ७२३ इकाइमा सीमित भएको जानकारी दिएको छ । यो गत छ महिनामा पहिलो पटक उत्पादनमा गिरावट आएको हो ।

कम्पनीका अनुसार, विदेशमा उत्पादन ३.४ प्रतिशतले घटेर पाँच लाख ६३ हजार ५४६ सवारीसाधनमा झरेको छ भने जापानभित्रको उत्पादन ९.७ प्रतिशतले घटेर दुई लाख ५८ हजार १७७ इकाइमा आएको छ ।

यद्यपि, संयुक्त राज्य अमेरिकामा भने हाइब्रिड सवारीसाधनप्रति उच्च मागका कारण उत्पादनमा वृद्धि देखिएको छ । अमेरिकामा उत्पादन ९.० प्रतिशतले बढेर एक लाख ७ हजार ९५३ इकाइ पुगेको छ, जसमा उच्च भन्सार शुल्कको बाबजुद माग बलियो भएको टोयोटाले बताएको छ ।

उत्पादनसँगै टोयोटाको विश्वव्यापी बिक्री पनि २.२ प्रतिशतले घटेर नौ लाख ११ इकाइमा सीमित भएको छ । यो पनि करिब ११ महिनामा पहिलोपटक बिक्रीमा देखिएको गिरावट हो ।

बिक्री विवरणअनुसार, विदेशमा बिक्री २.६ प्रतिशतले घटेर सात लाख ६९ हजार ७८९ रहेको छ, भने जापानमा बिक्री ०.२ प्रतिशतले घटेर एक लाख ३० हजार २२२ इकाइमा आएको कम्पनीले जनाएको छ ।

टोयोटाको उत्पादन र बिक्रीमा भएको यो कमीले आगामी महिनाहरुमा विश्व अटोमोबाइल बजारको माग तथा आपूर्ति कस्तो रहनेछ भन्ने विषयमा ध्यानाकर्षण बढाएको छ । रासस

 

प्रकाशित मिति: शुक्रबार, पुस ११, २०८२  १५:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update