सप्तरी । अत्यधिक जाडो र शीतलहर बढेपछि सप्तरीको बोदे बर्साइन नगरपालिकाले नगरक्षेत्रका सम्पूर्ण विद्यालयमा चार दिनका लागि बिदा दिएको छ। नगरपालिकाले एक सूचना जारी गर्दै आजदेखि पुस १३ गतेसम्मका लागि सबै शिक्षण संस्था बन्द रहने जानकारी दिएको हो।
नगर प्रमुख आतेशसिंह यादवका अनुसार तराई क्षेत्रमा विगत केही दिनदेखि चलिरहेको शीतलहरका कारण जनजीवन निकै कष्टकर बनेको छ। बिहानीपख लाग्ने बाक्लो कुहिरो र चिसो हावाका कारण साना बालबालिकालाई विद्यालय आउजाउ गर्न र कक्षाकोठामा बस्न निकै असहज भएपछि बिदा दिने निर्णय लिइएको उनले बताए।
केही दिनयता घाम नलाग्ने र तापक्रम ह्वात्तै घटेपछि सप्तरीसहित सम्पूर्ण तराई-मधेसको जनजीवन प्रभावित भएको छ। जाडोका कारण विद्यालय मात्र नभई बजार र सरकारी कामकाजमा समेत असर पुगेको छ। चिसोबाट जोगिन सर्वसाधारणले सतर्कता अपनाउनुपर्ने अवस्था आएको छ। रासस


