Khabar Out
एक महिनामा ५ सय ५६ मुद्दा दर्ता, २ सय १४ फरार प्रतिवादी पक्राउ

सुदूरपश्चिम ।  सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले पछिल्लो एक महिनामा विभिन्न कसुरमा ५ सय ५६ मुद्दा दर्ता गर्नुका साथै चालु मुद्दाका २ सय १४ फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।

धनगढीमा आइतबार गरिएको पत्रकार सम्मेलनमा प्रहरी नायब महानिरीक्षक ओमबहादुर रानाले सार्वजनिक चासोका मुद्दामध्ये १ सय १४ मुद्दाको फर्छ्योट भएको जानकारी दिए । अदालतले विगतमा गरेको फैसला कार्यान्वयनको सिलसिलामा ५ सय २४ फरार प्रतिवादीलाई पक्राउ गरिएको हो । मङ्सिरमा प्रदेश प्रहरी कार्यालय र मातहतका कार्यालयमा घरेलु हिंसातर्फ परेका ८० उजुरीमध्ये ६५ उजुरी मिलापत्र गरी मिलाइएको र आठ उजुरी कानुनी कारबाहीका लागि अदालतमा पठाइएको उल्लेख गरिएको छ ।

यस्तै विभिन्न ठाउँका १५५ महिला र बालबालिका हराएकामा खोजतलास गरेर ९० जनालाई सम्बन्धित परिवारको जिम्मामा लगाइएको छ । लागुऔषधतर्फ मङ्सिरमा प्रदेश प्रहरी र मातहतका कार्यालयको टोलीबाट २७ किलो चरेस र १ सय १८ ग्राम खैरो हिरोइन बरामद गरिएको तथा यस क्रममा दुई महिला र ६८ पुरुषलाई लागुऔषधसहित पक्राउ गरेर यस सम्बन्धी ५६ मुद्दा दर्ता गरिएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

प्रदेशभरि यो अवधिमा १ सय ३० सवारीसाधन दुर्घटना भई १० जनाको मृत्यु र २१४ जना घाइते भएका छन् । ट्राफिक नियम उलङ्घन गरेर सवारीसाधन चलाउने तीन हजार २ सय ८० सवारीसाधनका चालकमाथि कारबाही गर्दा रु २६ लाख २४ हजार राजस्व सङ्कलन गरिएको छ । भन्सार छली गरेर ल्याएका रु ९६ लाख ४४ हजार मूल्य बराबरका व्यापारिक मालसामान बरामद गरेर भन्सार कार्यालयमा बुझाइएको कार्यालयले जनाएको छ । रासस

प्रकाशित मिति: सोमबार, पुस ७, २०८२  ०९:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update