जुम्ला । जिल्लाको तिला गाउँपालिका-२ स्थित तिला लघु जलविद्युत् आयोजनाका करोडौँ मूल्यका विद्युतीय उपकरण अलपत्र परेका छन् । लामो समयदेखि जलविद्युत् आयोजना बन्द हुँदा विद्युत् उत्पादन गर्ने विभिन्न उपकरण सडकमा अलपत्र परेका हुन् ।
जिल्लाका दुर्गम क्षेत्रमा विद्युत् विस्तार गर्ने उद्देश्यले निर्माण गरिएको उक्त जलविद्युत् आयोजना बन्द भएपछि लाखौँ खर्चेर खरिद गरिएका सामग्री प्रयोगविहीन बनेका स्थानीय बताउँछन् ।
विसं २०७४ मा पूर्वाधार विकास कोषको लगानीमा निर्माणाधीन उक्त आयोजनाका लागि गाउँपालिकाद्वारा खरिद गरिएका विद्युतीय उपकरण सडकमा अलपत्र छन् भने अहिले आयोजना पूर्ण रूपमा बन्द छ ।
“विसं २०७४ को स्थानीयतह निर्वाचनमा निर्वाचित जनप्रतिनिधिको पहलमा ती उपकरण खरिद गरिएको हो । हामी निर्वाचित भएर आएपछि ती सामान गाउँपालिकामा ल्याएका हौँ । अघिल्लो जनप्रतिनिधिको पालामा पेश्कीबापत केही रकम मात्र भुक्तानी दिइएको रहेछ”, तिला गाउँपालिकाका अध्यक्ष मोतीलाल रोकायाले भने ।
तिला–७ स्थित तिला नदीबाट एक मेघावाट क्षमताको विद्युत् उत्पादन गर्ने लक्ष्यका साथ तिला गाउँपालिका र प्रतिनिधिसभाका तत्कालीन सांसद गजेन्द्रबहादुर महतको पहलमा पूर्वाधार विकास कोषमा रहेको रु ११ करोड बजेट खर्च गरी आयोजना निर्माण भएको थियो ।
जलविद्युत् आयोजनासहित आवश्यक उपकरण प्रयोगविहीन भएपछि स्थानीयले तत्काल सञ्चालनमा ल्याउनुपर्ने भन्दै दबाब दिइरहेका छन् ।
रासस



