Khabar Out
‘धान्द्रुके बाजे’ ले बल्ल पाए ८३ वर्षमा नागरिकता

गलकोट । बागलुङको बागलुङ नगरपालिका–१०, भकुण्डेमा बस्दै आएका एक ८३ वर्षीय वृद्धले नागरिकता प्राप्त गरेका छन् । बागलुङ नगरपालिकाले लामो समयको प्रयासपछि कार्यपालिकाबाटै निर्णय गराएर नागरिकता दिलाएको हो ।

नाम र जन्म स्थान टुंगो नलागेका उनी ‘धान्द्रुके बाजे’ उपनामले चिनिन्छन् । उनले नागरिकता पाएपछि पहिलोपटक आठ हजार रुपैयाँ वृद्धभत्ता समेत प्राप्त गरेका बागलुङ नगरपालिकाको पञ्जीकरण शाखाले जनाएको छ ।

लामो समयदेखि भकुण्डेमा बस्दै आएका उनी बोल्न नसक्ने र परिवार समेत सम्पर्कमा नआएका कारण पहिचानविहीन थिए । नागरिकता नहुँदा राज्यले प्रदान गर्ने सामाजिक सुरक्षा भत्ताबाट समेत वञ्चित थिए ।

नगरपालिकाको कार्यापालिकाले निर्णय गरेपछि संरक्षक राखेर जिल्ला प्रशासन कार्यालयबाट नागरिकता दिलाइएको बागलुङ नगरका उपप्रमुख राजु खड्काले जानकारी दिए ।

“सानै उमेरमा बागलुङ नगरपालिका–१० स्थित भकुण्डे आउनुभएको तर बोल्न नसक्ने भएकाले उहाँलाई धान्द्रुके बाजे भनेर गाउँलेले बोलाउने गरेको, अहिले नरमाया थापाको घरमा बस्दै आएकाले उहाँकै संरक्षकत्वमा नागरिकता लिनुभयो,” खड्काले भने।

बाँसका सामग्री बनाउँदै आएका उनको जीवनको उत्तराद्र्धमा चन्द्रबहादुर थापा नामकरण गरी नागरिकता उपलब्ध गराइएको हो । रासस

प्रकाशित मिति: बिहीबार, पुस ३, २०८२  ०९:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update