काठमाडौँ । महाकाव्यकार डा नवराज लम्सालको महाकाव्य ‘कल्प’केन्द्रित प्रस्तुति ‘काव्य साँझः कल्प’ सम्पन्न भएको छ ।
ए क्युब प्रमोसनद्वारा सोमबार साँझ आयोजित कार्यक्रममा डा लम्सालले आफ्नो चौथो महाकाव्य ‘कल्प’का हरफहरू सुनाइरहँदा डा निरञ्जन भण्डारीले बाँसुरीमा साथ दिएका थिए । डा भण्डारी ललित कला क्याम्पसका बाँसुरीका प्राध्यापक हुन् । ।
कल्प महाकाव्य प्रकृति, संस्कृति र मानवताको त्रिवेणी मानिन्छ । वैश्विक चेतनाको भविष्यमुखी महाकाव्य मानिएको कल्पका हरफहरूसँग दर्शकहरू झुमेका थिए । डा लम्सालले केही काव्यका र केही निजी सन्दर्भहरू सुनाइरहँदा दर्शकदीर्घा निकै रोमाञ्चित भएको थियो ।
यसरी बाँसुरीसहित महाकाव्य लिएर डा लम्साल मञ्चमा पहिलोपटक प्रस्तुत भएका हुन्। आफैँ पनि लामो समय रेडियो प्रसारणमा बिताएका डा लम्सालले कविता वाचन गरिरहँदा धेरैले उनलाई रेडियो नेपाल र बिबिसीमा सुनेका ती दिनहरूको याद गरे ।
ललितपुरको झम्सिखेलस्थित मोक्षमा आयोजित काव्य साँझमा साहित्य, शिक्षा र संस्कृति क्षेत्रका अगुवाहरूसँगै विभिन्न पेसा र व्यवसायका विशिष्ट व्यक्तित्वहरूको बाक्लो उपस्थिति थियो । साहित्यकार डा लम्साल साहित्य र आधुनिक सञ्चारका अगुवा मानिन्छन । उनका चार महाकाव्यसहित १० पुस्तक प्रकाशित छन् । रासस


