काठमाडौँ । एमालेको ११औँ राष्ट्रिय महाधिवेशनमा गत भदौमा सम्पन्न दोस्रो विधान महाधिवेशनबाट पारित विधानका आधारमा नै नयाँ नेतृत्व चयन हुने भएको छ ।
सचिवालय बैठकले दोस्रो विधान महाधिवेशनको सर्वोच्चतालाई स्वीकार गर्दै यो राष्ट्रिय महाधिवेशनमा १५ सदस्यीय पदाधिकारी र दुई सय ५१ सदस्यीय केन्द्रीय कमिटी नै रहनेगरी आजको बैठकले निर्णय गरेको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए । उनका अनुसार महाधिवेशनको बन्दसत्रमा विगतको भन्दा फरक अभ्यासका रूपमा हालको सिंगो सचिवालय (१९ जना) नै अध्यक्षमण्डलका रूपमा रहनेछन् ।
बैठकले निर्वाचित र पदेन प्रतिनिधिहरू (दुई हजार १५४) को पाँच प्रतिशत हुन आउने १०८ सदस्य प्रतिनिधि मनोनयन पनि गरेको छ । उक्त नामावली मंसिर २७ गते सार्वजनिक हुनेछ ।
बैठकले महाधिवेशनबाट पारित गर्नुपर्ने विशेष प्रस्तावका लागि उपमहासचिव ज्ञवालीको संयोजकत्व र माइन्युटटिङका लागि उपमहासचिव पृथ्वीसुब्बा गुरुङको संयोजकत्वमा कमिटी गठन गरेको छ । सचिवालयले बैठकले हालै नेपाल सरकार र जेनजीका प्रतिनिधिबीच भएको १० बुँदे सम्झौताप्रति गम्भीर आपत्ति जनाउँदै सरकारको कार्यादेश र संविधानविपरीत भएको निष्कर्ष निकालेको उपमहासचिव ज्ञवालीले बताए ।
यसैबीच एमाले ले महाधिवेशनमा नेतृत्व चयनका लागि विद्युतीय भोटिङ मेसिनमा नमूना मतदान अभ्यास प्रतिनिधिलाई गराइएको छ । ललितपुर च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा एमालेले शुक्रबार प्रतिनिधिलाई विद्युतीय भोटिङ मेसिनमा मतदान गर्न सिकाउनका लागि नमूना मतदान अभ्यास गराएको हो ।
एमाले केन्द्रीय कार्यालयका सचिव भीष्म अधिकारीले केन्द्रीय कार्यालयमा आएका प्रतिनिधिलाई नमूना मतदान गराएर विद्युतीय भोटिङ मेसिनमा मतदान गर्न सिकाइएको जानकारी दिए ।
रामलक्ष्मण इनोभेसन प्रालिका सञ्चालक लक्ष्मण रिमालका अनुसार आज एमाले पार्टी कार्यालयमा दुई वटा मेसिनबाट नमूना मतदान अभ्भ्यास गराइएको छ । एमालेको महाधिवेशनमा दुई हजार ४०० प्रतिनिधि सहभागी हुँदैछन् । उनका अनुसार महाधिवेशन स्थल भृकुटीमण्डपमा १० वटा विद्युतीय मेसिन राखेर प्रतिनिधिलाई मतदान गर्न सिकाइने छ । यसअघि चितवनमा सम्पन्न १०औँ राष्ट्रिय महाधिवेशनमा विद्युतीय भोटिङ मेसिन प्रयोग गरिएको थियो । एमाले महाधिवेशन यही मंसिर २७ देखि २९ गतेसम्म काठमाडौँमा हुँदैछ । महाधिवेशनको बन्दसत्र भने भृकुटीमण्डपमा हुनेछ ।



