Khabar Out
चार करोडको लागतमा प्रहरी कार्यालय भवन निर्माण

जुम्ला। कनकासुन्दरी गाउँपालिका–६ स्थित गोठिज्युला प्रहरीचौकीले सुविधा सम्पन्न पक्की भवन प्राप्त गरेको छ। प्रहरी चौकी स्थापना भएको १४ वर्षपछि आफ्नै सुविधायुक्त भवन निर्माण भई सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रविनबाबु रेग्मीले जानकारी दिएका छन्।

उक्त वडाका स्थानीयले निःशुल्क जग्गा उपलब्ध गराएपछि भवन निर्माण सम्भव भएको हो। विसं २०६८ मा स्थापना भएको प्रहरीचौकीमा लामो समयपछि पक्की कार्यालयबाट सेवा प्रवाह दिन थालिएको छ। यो चौकीले कनकासुन्दरी क्षेत्रका साथै रारा जाने पर्यटकको शान्तिसुरक्षा र ट्राफिक व्यवस्थापनको काम गर्दै आएको प्रहरी नायब उपरीक्षक रेग्मीले बताए।

कर्णाली प्रदेशका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक माधवप्रसाद श्रेष्ठले प्रहरीको आन्तरिक स्रोतअन्तर्गत चार करोड रुपैयाँको लागतमा सुविधायुक्त भवन निर्माण गरिएको जानकारी दिएका छन्।

गाउँपालिका अध्यक्ष दामोदर आचार्यले प्रहरी चौकीलाई आवश्यक सहयोग सधैँ गरिने बताएका छन्। जिल्ला प्रहरी कार्यालयका अनुसार जुम्लाका आठवटै स्थानीय तहमा २९ वटा प्रहरी युनिटहरू सञ्चालनमा छन्, जसमा १३ प्रहरीचौकी, छ अस्थायी प्रहरीचौकी, एक इलाका प्रशासन, जिल्ला ट्राफिक कार्यालय, कारागार र विमानस्थल समावेश छन्। रासस

प्रकाशित मिति: शनिबार, मंसिर २०, २०८२  १६:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update