अस्ट्रेलिया । च्याटजिपीटीको निर्माता ओपनएआई तथा अस्ट्रेलियाली डाटा सेन्टर अपरेटर नेक्स्टडीसी बिच सिड्नीमा अर्बौं डलरको कृत्रिम बुद्धिमत्ता (एआई) केन्द्र विकास गर्ने सम्झौता भएको छ ।
ब्रिस्बेनमा मुख्यालय रहेको नेक्स्टडीसीले शुक्रबार सार्वजनिक गरेको विज्ञप्तिअनुसार दुवै कम्पनीबिच एआई क्याम्पस तथा जिपियु ‘सुपरक्लस्टर’ निर्माणका लागि समझदारीपत्रमा हस्ताक्षर भएको हो ।
सम्झौता अनुसार यी कम्पनीहरूले पश्चिमी सिड्नीमा अत्याधुनिक एआई पूर्वाधारको योजना, विकास तथा सञ्चालनमा सहकार्य गर्नेछन् । सम्झौताको प्रभाव बजारमा पनि देखिएको छ– नेक्स्टडीसीको सेयर दिउँसोको कारोबारमा ४.१ प्रतिशतले उकालो लागेको छ ।
अस्ट्रेलियाली सरकारले ७ अर्ब अस्ट्रेलियन डलर (झन्डै ४ अर्ब ६० करोड अमेरिकी डलर) बराबरको यो परियोजनाले निर्माण, प्रविधि, इन्जिनियरिङ तथा परिचालन क्षेत्र मिलाएर हजारौँ प्रत्यक्ष तथा अप्रत्यक्ष रोजगारी सिर्जना गर्ने विश्वास व्यक्त गरेको छ ।
सरकारका अनुसार यो विशाल केन्द्रले नयाँ नवीकरणीय उर्जा स्रोत प्रयोग गर्नेछ र पिउने पानी प्रयोग नगरी चिस्याउन सकिने ‘नेक्स्ट जेनेरेसन’ सुविधा निर्माण गरिनेछ ।
अस्ट्रेलियाका अर्थमन्त्री जिम चाल्मर्सले यस परियोजनालाई देशको एआई क्षमताको ठोस प्रमाणका रूपमा प्रस्तुत गर्दै यो साझेदारीले गुणस्तरीय रोजगारी सिर्जना गर्ने, सीप अभिवृद्धि गराउने र अर्थतन्त्रभरि एआई प्रयोग विस्तार गर्ने विश्वास व्यक्त गरे ।
उनका अनुसार अस्ट्रेलियामा उपलब्ध प्रतिभा, स्वच्छ उर्जा क्षमता, मजबुत व्यापारिक साझेदारी र सहायक नीतिकै कारण देश एआई क्षेत्रका ‘ठूला विजेतामध्ये एक’ बन्न सक्नेछ । रासस



