Khabar Out
रुस–युक्रेन शान्ति कूटनीतिक प्रयास : पुटिन र अमेरिकी दूतबीचको वार्ता सकारात्मक

काठमाडौं । रूस–युक्रेन युद्ध समाप्त गर्ने रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकाका विशेष दूत स्टीभ विटकफ र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका ज्वाईं जेरेड कुश्नरसँग वार्ता गरेका छन् । 

रूस–युक्रेन शान्ति योजनालाई लिएर भइरहेको विश्वव्यापी छलफलबीच यो बैठकलाई महत्वपूर्ण मानिएको छ । बैठकमा पुटिनका सल्लाहकार यूरी उशाकोभ र क्रेमलिनका दूत किरिल दिमित्रिएभ पनि उपस्थित थिए । अमेरिकी दूत स्टीभ विटकफ र ट्रम्पका ज्वाईं तथा सल्लाहकार जेरेड कुश्नर अमेरिकी वार्ताकार थिए ।

मस्कोमा करिब पाँच घण्टासम्म चलेको यो बैठकमा अमेरिकी प्रतिनिधिमण्डल र रुसी अधिकारीहरूले रूस–युक्रेन युद्ध अन्त्य गर्ने सम्भावित मार्गहरूबारे छलफल गरेका थिए ।

रुसी राष्ट्रपति पुटिन र अमेरिकी विशेष दूत विटकफबीचको वार्ता सकारात्मक भए पनि ‘अझै धेरै काम गर्न बाँकी’ रहेको बैठकमा सहभागी एक सल्लाहकारले बीबीससीलाई बताएका छन् ।

विदेश नीति सल्लाहकार यूरी उशाकोभले युक्रेनद्वारा जमिन छुटको विषयमा कुनै सम्झौता हुन नसकेको बताए ।

बैठकपछि दुवै पक्षले कुनै आधिकारिक धारणा जारी गरेनन् । बैठकपछि विटकाँफ मस्कोस्थित अमेरिकी दूतावास पुगेका थिए ।

अमेरिकाको २८–बुँदे शान्ति प्रस्तावमा छलफल
वाशिंगटनले हालै २८–बुँदे नयाँ शान्ति प्रस्ताव तयार गरेको छ ।  यसलाई युक्रेन र युरोपेली देशहरूद्वारा केही संशोधनपछि फेरि पठाइएको छ । पहिलो मस्यौदाको आलोचना गरिएको थियो । रूसको पक्षमा मस्यौदा रहेको भन्दै यसको आलोचना भएको थियो। 

युरोपमाथि पुटिनको आरोप
बैठक हुनुभन्दा केही घण्टाअघि नै पुटिनले एक लगानी मञ्चमा युरोपेली देशहरूमाथि कडा टिप्पणी गरेका थिए । उनले यदि, युरोपले युद्धलाई बढाउने दिशामा कदम चाले रूस पनि सैन्य भिडन्तका लागि तयार भएको बताएका थिए । पुटिनले भने, “हामी युरोपसँग युद्ध चाहँदैनौं । तर यदि, उनीहरूले सुरु गरे भने हामी तयार छौँ ।” 

युरोपेली नेताहरूले वार्तालाई प्राथमिकता नदिइरहेका बताउँदै उनले युरोपेली देशहरूले अमेरिका र ट्रम्पद्वारा सुझाइएको शान्ति प्रयासहरूमा अवरोध पुर्‍याइरहेका आरोप लगाएका थिए ।

यसैबीच, युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की आयरल्यान्ड पुगेर युरोपेली नेताहरूबाट समर्थनलाई मजबुत बनाउने प्रयास गरेका छन् । जेलेन्स्कीले अमेरिका र रूसको वार्ताबाट प्राप्त हुने संकेतले अगाडिको रणनीति तय गर्ने बताए । उनले युक्रेनले हरेक दिन धेरै जीवन गुमाइरहेकोले अब ठोस नतिजाको आवश्यकता भएको बताए । तर, यसका लागि पुराना योजना र रणनीतिले  काम नचल्ले बताए ।

उता, अमेरिकी विदेश मन्त्री मार्को रुबियोले किभको राष्ट्रिय सुरक्षा र रक्षा परिषद् प्रमुख रुस्तेम उमेरोभसँग बैठक गरेका छन् । रुबियोले छलफललाई उपयोगी तर जटिल रहेको बताए । बीबीसी

प्रकाशित मिति: बुधबार, मंसिर १७, २०८२  १०:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update