Khabar Out
महाधिवेशनसँगै कांग्रेस चुनावी प्रचारमा जुट्ने

काठमाडौँ   मुलुकको सबैभन्दा ठूलो प्रजातान्त्रिक दल नेपाली कांग्रेसमा लामो रस्साकस्सीपछि नियमित महाधिवेशनमा जाने सहमति जुटेको छ । कांग्रेस केन्द्रीय कार्यसमितिको सोमबारको बैठकले पार्टीको १५औँ महाधिवेशन आगामी पुस २६ देखि २८ गतेसम्म काठमाडौँमा गर्ने कार्यतालिकासहितको निर्णय गरेको हो । आगामी फागुन २१ गते निर्धारित आमनिर्वाचन अघि वा पछि कहिले महाधिवेशन गर्ने भन्ने विषयमा सोमबारको कांग्रेस बैठकमा सहमति जुटेको हो ।

पार्टीभित्र संस्थापन र इतरपक्षबीच आमनिर्वाचन अगाडि वा पछाडि तथा विशेष र नियमित कुन महाधिवेशन गर्ने भन्ने विषयमा डेढ महिनादेखि बहस जारी थियो । महाविधेशनको तालिकाअनुसार कांग्रेसले क्रियाशील सदस्यता वितरण र वडादेखि जिल्ला तहसम्मका अधिवेशनलाई जनतामाझ पुग्नका लागि अवसरका रुपमासमेत उपयोग गर्ने जनाएको छ ।

पार्टी महामन्त्री विश्वप्रकाश शर्माले लामो प्रयासका बाबजुद सर्वसम्मत रुपमा महाधिवेशनको मिति तोक्न भएको सहमतिबाट पार्टीलाई बदलिएको समयबमोजिमको बनाउने प्रक्रियाको थालनी भएको बताए । उनले भने, “कांग्रेस अब महाविधेशनसँगै निर्वाचनको कुरालाई पनि सँगै लिएर गाउँ जान्छ, हामी बदलिएर आउँदै छौँ र हामी मत लिनका लागि पनि आउँदै छौँ भन्ने अभियान सँगसँगै सुरु हुन्छ । यो महाधिवेशन मात्रै होइन, अहिलेको जेनजी आन्दोलनको परिवर्तनप्रति कांग्रेस के भन्न चाहन्छ ?, अहिलेका घटनाक्रमलगायतलाई कसरी बुझ्न चाहन्छ ?, कसरी बुझ्दछ ? र आगामी दिनमा त्यस्तो अवस्था हुन नदिनलाई आफूलाई कसरी नयाँ बनाउन चाहन्छ ? भन्ने सन्देश पनि दिन चाहन्छौँ ।”

महामन्त्री शर्माले कांग्रेसको आगामी महाधिवेशन र निर्वाचनको सँगसँगैको अभियानले मुलुकलाई निर्वाचनमय बनाउने र यसले अन्ततः संविधानलाई ट्र्याकमा ल्याउनलाई निर्वाचनमार्फत ल्याउन बल पु¥याउन विश्वास व्यक्त गरे । 

महाधिवेशनको कार्यतालिकामा रहेको समयको चापलाई मध्यनजर गरी युद्धस्तरमा काम गर्ने उनले बताए  । गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि कांग्रेस केन्द्रीय समिति बैठक गत असोज २८ गतेदेखि प्रारम्भ भएको थियो । बैठकमा संस्थापनतिर पक्षधरले विशेष महाधिवेशनका लागि ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षरसहित निवेदन दर्ता गराएको थियो ।

कार्यवाहक सभापति पूर्णबहादुर खड्काको अध्यक्षतामा बसेको बैठकले यही मङ्सिर २३ गते समयावधि सकिन लागेको पार्टीको वर्तमान कार्यसमितिको म्यादसमेत दुई महिना थप गर्ने निर्णय गरेको छ । कांग्रेसको १४औँ महाधिवेशन २०७८ मङ्सिर २४ देखि २८ गतेसम्म काठमाडौँमा भएको थियो । पार्टीको १५औँ महाधिवेशनको कार्यतालिकाअनुसार यही मङ्सिर २० गतेभित्र केन्द्रबाट नयाँ क्रियाशील फारम वितरण गरिनेछ । मङ्सिर २४ गतेभित्र प्रतिनिधिसभा क्षेत्रीय समिति हुँदै वडासम्म नयाँ क्रियाशील सदस्यताको फाराम पठाइने पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । रासस

प्रकाशित मिति: मंगलबार, मंसिर १६, २०८२  २१:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update