बेइजिङ । पेरिसले चीन–इयू सम्बन्धलाई थप घनिष्ठ बनाउनेतर्फ भूमिका निभाउनुपर्ने चिनियाँ उच्च कूटनीतिज्ञले बताएका छन्।
पेरिसले चीन–इयू सम्बन्धलाई थप घनिष्ठ बनाउनेतर्फ भूमिका खेल्नेमा चीन आशावादी रहेको बेइजिङका शीर्ष कूटनीतिज्ञले बिहीबार फ्रान्सेली राष्ट्रपतिका सल्लाहकारसँग बताएका हुन् ।
चिनियाँ विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “चीनका वरिष्ठ कूटनीतिज्ञ वाङ यीले फ्रान्सका कूटनीतिज्ञ इम्यानुयल वोनलाई गरेको टेलीफोन वार्तामा उहाँले फ्रान्सले इयूलाई चीनप्रति सकारात्मक र तर्कसंगत नीति अपनाउन प्रोत्साहित गर्ने र चीन–ईयू सम्बन्धको स्वस्थ विकासलाई सही मार्गमा अघि बढाउन सहयोग गर्ने बताउनुभएको छ ।”
उनले भने, “अन्तर्राष्ट्रिय परिस्थिति अशान्ति र परिवर्तनले जोडिएको छ र यस परिस्थितिमा दुई देशबिच गहिरो सम्बन्धको आवश्यकता हुनेछ ।”
फ्रान्सका राष्ट्रपति इम्यानुयल म्याक्रोँले बेइजिङ भ्रमणमा जानुभन्दा केही दिनअघि चिनियाँ राष्ट्रपति सी जिनपिङसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।
फ्रान्सले अर्को वर्ष जी–७ को अध्यक्षता सम्हालेपछि म्याक्रोँले आर्थिक र व्यापारिक मामिलाहरू उठाउने अपेक्षा गरिएको छ ।
चीन सदस्य नभएको प्रजातान्त्रिक औद्योगिक समूह राष्ट्रहरूको सङ्गठन जि–७ को अध्यक्षता हाल क्यानडाले गरिरहेको छ ।
वाङले फ्रान्सलाई एक चीन सिद्धान्तको पालना गर्न पनि आग्रह गरे । बेइजिङले ताइवानको स्वशासित टापुलाई आफ्नो भूभागको रूपमा दाबी गर्दछ र विश्व समुदायसँग एक चीन नीतिको समर्थन गर्न आग्रह गर्दै आएको छ।
जापानी प्रधानमन्त्री साने ताकाइचीले ताइवानमाथि आक्रमण भएमा टोकियोले सैन्य हस्तक्षेप गर्न सक्ने टिप्पणी गरेपछि चीन र जापानबिचको सम्बन्ध यसै महिना चिसिएको बेला उनको टिप्पणी आएको हो।
वाङले ताकाइचीको टिप्पणीलाई ‘उत्तेजक’ भन्दै बेइजिङको अडानलाई दोहोर्याउनुभयो र फ्रान्स र चीनले ‘एक अर्काको मुख्य हितसँग सम्बन्धित मुद्दाहरूमा एक अर्कालाई दृढतापूर्वक समर्थन गर्नुपर्ने’ बताए ।
राष्ट्रपति म्याक्रोँले दक्षिण चीन सागरको अवस्थालाई युक्रेनको युद्धसँग जोडेपछि चीनले ताइवानप्रति फ्रान्सको अडानको आलोचना गरेको थियो ।
म्याक्रोँले मेमा एक सम्बोधनमा भनेका थिए, “यदि रुसलाई प्रतिबन्ध बिना युक्रेनमा आक्रमण गर्न अनुमति दिइयो भने, ‘ताइवानमा के हुन सक्छ’?” रासस



