Khabar Out
वीरगञ्ज नाकाबाट चार महिनामा दुई खर्ब ८४ अर्बको सामान भित्रियो

पर्सा । वीरगञ्ज नाकाबाट चालु आर्थिक वर्ष २०८२/८३ को चार महिनामा रु दुई खर्ब ८४ अर्ब ८९ करोडको वस्तु तथा सामान आयात भएकाे छ ।

 

 

गत आर्थिक वर्षको चार महिनाको तुलनामा चालु आवको सोही अवधिमा आयात रु ४३ अर्ब ८६ करोडले वृद्धि भएकाे हाे । गत आवको चार महिनाको अवधिमा रु दुई खर्ब ४१ अर्ब तीन करोडको वस्तु तथा सामान आयात भएको थियो ।

वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक विष्णुप्रसाद ज्ञवालीले गत आर्थिक वर्षको चार महिनाको तुलनामा चालु आवको सोही अवधिमा यो नाकाबाट १८ प्रतिशत वृद्धि भएको जानकारी दिए ।

“गत आवको चार महिनाको तुलनामा चालु आवको सोही अवधिमा आयातमा मात्रै नभएर राजस्व सङ्कलनमा समेत वृद्धि भयो,” उनले भने ।

कार्यालयका अनुसार गत आवको चार महिनामा कार्यालयले रु ६६ अर्ब ७३ करोड राजस्व सङ्कलन गरेको थियो । तर, चालु आवको चार महिनामा भने रु ७५ अर्ब ५९ करोड राजस्व सङ्कलन भएकाे हाे ।

वीरगञ्ज नाकाबाट चार महिनामा रु ५४ अर्ब १२ करोड मूल्य पर्ने पाँच थरीको पेट्रोलियम पदार्थ आयात भयो । त्यस्तै सोही अवधिमा रु २५ अर्ब ५२ करोडको फलाम तथा फलामबाट बनेको सामान आयात भएकाे हाे  । रु १९ अर्ब ५४ करोड मूल्य पर्ने मेसिनरी तथा पार्टपुर्जा भित्रिए ।

वीरगञ्ज नाकाबाट चार महिनामा रु १८ अर्ब ३१ करोडको भटमासको कच्चा तेल, रु १६ अर्ब चारको इलेक्ट्रिक मेसिनरी, उपकरण र तिनका पार्टपुर्जा तथा रु १५ अर्ब ४३ करोडको मलखाद आयात भएका छ । रासस

प्रकाशित मिति: मंगलबार, मंसिर ९, २०८२  १४:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update