किमाथाङ्का । कोशी राजमार्गअन्तर्गत सङ्खुवासभाको सभाखोला –लेगुवा सडक खण्डमा दुर्घटना रोकथाम तथा यातायातको सहज व्यवस्थापनका लागि ‘टाइम कार्ड’ लागू गरिएको छ । पछिल्लो समय दुर्घटना बढेको भन्दै प्रहरीले आजदेखि टाइम कार्ड लागू गरेको हो ।
कोशी राजमार्गअन्तर्गत १७ दशमलव पाँच किलोमिटर सडकखण्डमा ४५ मिनेट कायम रहनेगरी ‘टाइम कार्ड’ लागू गरिएको प्रमुख जिल्ला अधिकारी सिर्जना थपलियाले जानकारी दिइन् ।
गन्तव्यमा चाँडो पुग्ने बहानामा तीव्र गतिमा सवारीसाधन चलाउने प्रवृत्तिलाई निरुत्साहन गर्न गत भदौमा जिल्ला प्रशासन कार्यालयमा बसेको बैठकले यस्तो प्रणाली लागू गर्ने निर्णय गरेको थियो । जिल्लामा दैनिक दुई सय यात्रुवाहक तथा मालवाहक सवारीसाधन आवतजावत हुने गरेका छन् ।
जिल्लास्थित यातायात व्यवसायीसँगको समझदारीमा टाइम कार्ड लागू गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कुमारप्रसाद मैनालीले बताए । यस क्रममा दुर्घटना न्यूनीकरणका लागि चालक र सहचालकलाई ट्राफिक नियमको पूर्ण पालना गर्न निगरानी राखिने उनले बताए । रासस




