Khabar Out
छत्रकुमारी कार्की हत्या प्रकरणमा संलग्न दुईजना पक्राउ

सिन्धुली । तीनपाटन गाउँपालिका–२, पैरेकी छत्रकुमारी कार्की (थापा) हत्या प्रकरणमा दुईजना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार, ४० वर्षीया छत्रकुमारी यही कात्तिक १७ गते दिउँसो १२ बजे घरबाट हराएकी थिइन् । उनको शव कात्तिक २१ गते तीनपाटन गाउँपालिका–१, सिसौघारीमा फेला परेको थियो ।

कात्तिक १८ गते इलाका प्रहरी कार्यालय बेलघारीमा तिलकबहादुर लकाइले उजुरी दिएका थिए । सोही उजुरीका आधारमा प्रहरीको टोलीले खोजतलास गर्दा घाँटीमा सलले बेरिएको अवस्थामा शव फेला पारिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख प्रहरी उपरीक्षक लालध्वज सुवेदीले जानकारी दिए । 

प्रहरी उपरीक्षक सुवेदीका अनुसार, घटनामा संलग्न भएको आरोपमा सुरज भन्ने सूर्यबहादुर कामीलाई दाङको लमही नगरपालिका–५, बसपार्क क्षेत्रबाट पक्राउ गरिएको छ । निरन भनिने टंकबहादुर कामीलाई दुधौली नगरपालिका–९ बाट पक्राउ गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

मृतक छत्रकुमारीको मोबाइल फोन प्रहरीले बरामद गरेको छ । शव परीक्षण प्रतिवेदनमा उनको मृत्यु सलले ‘घाँटी थिची’ गरिएको देखिएको छ । प्रहरीले घटनाको अनुसन्धान जारी रहेको बताएको छ । रासस

प्रकाशित मिति: बिहीबार, कात्तिक २७, २०८२  २१:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update