जुम्ला । जुम्लाको गुठीचौर गाउँपालिकाले गत आर्थिक वर्षमा ३३ लाख रुपैयाँ राजस्व सङ्कलन गरेको छ।
गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत मायाँलक्ष्मी बुढाले दिएको जानकारी अनुसार, वडागत रूपमा वडा–१ बाट रु ८२ हजार, वडा–२ बाट रु एक लाख, वडा नं ३ बाट रु एक लाख ५३ हजार, वडा नं ४ बाट रु दुई लाख ६८ हजार र वडा नं ५ बाट रु दुई लाख ५८ हजार ५३१ राजस्व सङ्कलन भएको छ।
यसबाहेक, गाउँपालिकाले मालपोत कार्यालयमार्फत रजिष्ट्रेशन शुल्कबाट रु तीन लाख १३ हजार राजस्व आर्जन गरेको छ। गुठीचौर पर्यटन प्रवर्द्धनका लागि आयोजित प्याराग्लाइडिङ महोत्सवबाट रु आठ लाख ४४ हजार राजस्व उठेको छ।
अन्य आय स्रोतहरूमा डोजर सञ्चालनबाट रु पाँच लाख ५९ हजार, एम्बुलेन्स सेवाबाट रु ८१ हजार र पशु शाखाबाट रु सात लाख ८४ हजार राजस्व सङ्कलन भएको छ।
गाउँपालिकाका अनुसार चालु आर्थिक वर्षको कात्तिक महिनाको दोस्रो सातामा मात्रै रु नौ लाख ९७ हजार राजस्व सङ्कलन भएको छ।


