Khabar Out
सबैभन्दा ठुलो मानव सेवा हो : अध्यक्ष ढकाल

बागलुङ । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले वैदिक सनातन धर्मका हिसाबले महत्त्वपूर्ण रहेको गण्डक क्षेत्रमा धार्मिक गतिविधि बढेको बताएका छन् ।

अध्यक्ष ढकालले मानव जातिका लागि मानव सेवा आश्रमले सातै प्रदेशमा चलाएको सडक मानव मुक्त अभियानको मुक्तकण्ठले प्रशंसा गर्दै पवित्र काली गण्डकी तटमा मानवताको मन्दिर निर्माण थालिएको बताए । उनले धर्मसँग मानवीय भावनालाई जोडेर बागलुङ भूमिलाई थप चिनाउन आवश्यक रहेको उल्लेख गरे ।

मानव सेवा आश्रम बागलुङको शाखाको भवन निर्माणका लागि आयोजना गरेको श्रीमद्भागवत ज्ञान–विज्ञान महायज्ञको आज उद्घाटनपछि अध्यक्ष ढकालले मानवीय भावनालाई धर्मसँग जोडेर बागलुङलाई चिनाउन आवश्यक रहेको बताए । उनले महायज्ञमार्फत मानवताको मन्दिर निर्माणका लागि आफूले सक्दो सहयोग गर्ने बताए ।

‘मानवीय भावनाको पुण्य कार्यमा सबैको सहयोग रहन्छ, पवित्र काली गण्डकी तट जुन मुक्तिनाथ र दामोदर कुण्डको काखमा छ । आश्रमको भवन निर्माणमा व्यक्तिगत र संस्थागत रूपमा सहभागी हुन्छु’, उनले भने ।

विश्वका हिन्दु धर्मावलम्बीहरूका आस्थाका धरोहर मुक्तिनाथ क्षेत्र दामोदरकुण्डदेखि गलेश्वर हुँदै बागलुङ कालिका, मोदीवेणी धाम, जैमिनी ऋषिले तपस्या गरेको जैमिनीघाट पनि हाम्रा सुप्रसिद्ध तीर्थस्थललाई मानव सेवा आश्रमले जोड्नुपर्ने अध्यक्ष ढकालले बताए । काली गण्डकी करिडोर र मध्य पहाडी लोकमार्गले चिरेको बागलुङ धार्मिक पर्यटनको क्षेत्रमा अघि बढेको बताउँदै मानवीयताको मन्दिर निर्माणमा सबैले सहयोग गर्न आवश्यक रहेको अध्यक्ष ढकालको भनाइ छ । आश्रमका अभियन्ता रामजी अधिकारी, सुमिरा लामासहित सबैलाई थप मानवीय क्षेत्रमा काम गर्न उनले आग्रह गरे ।

सडकमा अलपत्र परेका, बेसहारा भएका, सहयोगापेक्षी, अभिभावकविहीन र अलपत्र परेका जसको कोही छैन त्यसको मानव सेवा आश्रम छ भन्ने सन्देश नेपालभर पु¥याउन आवश्यक रहेको उनको भनाइ थियो । विसं २०७२ मा बागलुङ शाखाको स्थापना भएको मानव सेवा आश्रम अहिले भाडाको भवनमा ६४ जनालाई आश्रय प्रदान गर्दै आएको छ ।

बागलुङ नगरपालिका–४ निरयघाटमा २०७८ देखि निर्माण थालिएको मानव सेवा आश्रमको भवन निर्माणमा रु पाँच करोड खर्च भइसकेको छ भने भवन सम्पन्नताका लागि थप रु चार करोड खर्च लाग्नेछ । यही कात्तिक २८ गतेसम्म सञ्चालन हुने महायज्ञको प्रमुख कथा वाचकका रूपमा भागवत भास्कर कमलनयन गौतम रहेका छन् । 

प्रकाशित मिति: शुक्रबार, कात्तिक २१, २०८२  २१:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update