गोरखा। गोरखास्थित पाङबारी हिमालमा विगत पाँच दिनदेखि बेपत्ता दुई इटालियन आरोहीको शव फेला परेको छ।
पाङबारी हिमालको पहिलो शिविरमा इटालीका ६७ वर्षीय स्तेफानो फरिनातो र ३७ वर्षीय अलेस्सान्द्रो गापुटोको शव फेला परेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक (डिएसपी) राजकुमार श्रेष्ठले जानकारी दिएका छन्। दुवै जनाको शव हिउँले पुरिएको अवस्थामा फेला परेको उनले बताए।
आरोहीको शव हेलिकोप्टरमार्फत सामागाउँ ल्याइएको छ। फरिनातो र गापुटो हिमाल आरोहण गर्न नसकेपछि फर्कने क्रममा हिमपातका कारण अलपत्र परेको बताइएको छ।
उनीहरूसँगै अलपत्र परेका अर्का इटालियन नागरिक ६५ वर्षीय भेल्टर परलिनोको भने गत आइतबार हेलिकोप्टरबाट उद्धार गरिएको डिएसपी श्रेष्ठले बताए। उनको साथमा रहेका नेपाली सहयोगी पेम्बा रेञ्जी शेर्पा, दावा छिरी शेर्पा र पासाङ तामाङको पनि सोही दिन हेलिकोप्टरबाट उद्धार गरी उपचारका लागि काठमाडौँ पठाइएको उनले जानकारी दिए । रासस


