Khabar Out
वाम एकताबद्ध हुन जरुरी  तर पुराना पुस्ताको नेतृत्वले बिदा लिनुपर्छ : नेता भुसाल

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का  पार्टी महासचिव घनश्याम भुसालले पनि कम्युनिस्ट पार्टीमा विकृति र विसङ्गति फैलिएकाले नेतृत्व हस्तान्तरणको कार्ययोजनासहित वाम एकता गर्नुपर्ने बताए। शनिबार आयोजित भेलामा धारणा राख्दै उनले राजनीतिलाई सही दिशा दिन वामशक्ति एकताबद्ध हुन जरुरी रहेको र पुराना पुस्ताको नेतृत्वले बिदा लिनुपर्ने उल्लेख गरेका हुन्।

त्यस्तै, सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले मुलुकमा उत्पन्न राजनीतिक सङ्कट समाधानका लागि वाम पार्टीहरूको पुनर्गठन गर्नुपर्ने बताएका छन्। उनले पार्टीलाई व्यापक पुनर्गठन गरी सङ्गठनलाई थप सशक्त बनाउन आवश्यक रहेको बताए।

खनालले राजनीतिमा युवालाई अगाडि बढाउन पार्टी नेतृत्वमा पुस्तान्तरण आवश्यक रहेको र पुराना पुस्ताका नेताहरूले अब बिदा लिनुपर्नेमा जोड दिए। वामपन्थी शक्तिले पार्टीभित्र आफ्ना वैचारिक दृष्टिकोण प्रस्ट पारी आन्तरिक विवाद हल गर्नुपर्ने खाँचो औँल्याउँदै उनले त्यसपछि गरिने एकता मात्रै दीर्घकालीन हुने विचार व्यक्त गरे।

खनालले भने, ‘मुलुकमा छरिएका कम्युनिस्ट पार्टीमा नेतृत्व हस्तान्तरणको समस्याले गर्दा कम्युनिस्ट आन्दोलन जुट्ने र फुट्ने प्रक्रियामा छ। वैचारिक दृष्टिकोणसहित नेतृत्व हस्तान्तरण गर्दै पार्टी पुनर्गठनको आवश्यकता छ। त्यसले मात्रै सामाजिक न्याय, आर्थिक रूपान्तरणका कार्यक्रम कार्यान्वयन गर्दै अगाडि बढ्न सकिन्छ।’

उनले मुलुकमा सुशासन कायम गर्न नेताहरूको सम्पत्ति छानबिन गर्नुपर्नेमा जोड दिए। साथै, निष्पक्ष छानबिन प्रक्रियाबाट दोषी देखिएका नेतालाई पार्टी जिम्मेवारीबाट अलग गर्नुपर्ने धारणा पनि उनले राखे। रासस

प्रकाशित मिति: शनिबार, कात्तिक १५, २०८२  २२:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update