
काठमाडौँ । प्रत्येक वर्ष कार्तिक कृष्ण चतुर्दशीको बिहान अरुणोदयकाल अघिको समयमा नदी, तलाउ वा धारामा गई स्नान गरी मनाइने नरक चतुर्दशी पर्व आज बिहान विधिपूर्वक गरिएको छ ।
स्नानपछि सालको पातमा यमदीप दक्षिण दिशामा फर्काई बालेर बगाउने कार्य पनि आज वैदिक सनातन हिन्दु धर्मावलम्बीले गरेका छन् । यसलाई नरक स्नान गर्ने र नरक बगाउने भनिन्छ । बोलीचालीको भाषामा नरके नुहाएर बगाउने नामलेसमेत यो पर्व चिनिने गरेको छ ।
आज यसरी नरके बगाएमा नरकको दर्शन गर्नु नपर्ने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् प्रा तोयराज नेपालले जानकारी दिए । यसैकारण आजको दिनलाई नरक चतुर्दशी पनि भनिन्छ । आजै कुकुरको पूजा गरी मीठा कुरा खान दिइँदै छ । आज बेलुकीपछि भने औँसी तिथि लाग्ने भएकाले धनधान्यकी देवी लक्ष्मीको पूजा आराधना पनि साँझ गरिँदै छ ।
कुकुर तिहार र नरक चतुर्दशी यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन पर्ने भए पनि यस वर्ष तिथिको घटबढका कारण नरक चतुर्दशी कुकुर तिहार तेस्रो दिन आज परेको समितिका अध्यक्ष प्रा.शम्भुप्रसाद ढकालले बताए ।
बिहान अरुणोदयकालअघि चतुर्दशी तिथि परेका दिन नरक स्नान गरी बत्ती बालेर बगाउनुपर्ने भएकाले आज बिहान यो पर्व मनाउने निर्णय गरिएको समितिले जनाएको छ ।
यस वर्ष कात्तिक १ गते शनिबारदेखि यमपञ्चक अर्थात् तिहार पर्व सुरु भएको हो । दोस्रो दिन आइतबार काग तिहार र धनवन्तरी पर्व मनाइएको थियो । यो नेपालीको बडा दसैँपछि दोस्रो ठुलो चाड हो ।
यसलाई उज्यालोको चाड पनि भनिन्छ । यमपञ्चक लागेसँगै सहर, बजार झिलिमिली बनेको छ । यसैले तिहारलाई उज्यालोको पर्व पनि भनिन्छ । विश्वभर फैलिएका वैदिक सनातन धर्मावलम्बीले यो पर्व मनाउँछन् । रासस