चितवन । चितवनमा चालु आर्थिक वर्षको साउनदेखि असोज मसान्तसम्म तीन हजार ६२ जनाले वंशजका आधारमा नागरिकता प्राप्त गरेका छन् । यस अवधिमा ६ हजार ७६६ नागरिकताको प्रतिलिपि जारी गरिएको छ । यस्तै २८ जनाले नागरिकता परित्याग गरेका छन् ।
जिल्ला प्रशासन कार्यालय चितवन र इलाका प्रशासन कार्यालय माडीबाट उक्त अवधिमा वंशजका आधारमा नागरिकता जारी गरिएको हो । जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी विकास विकका अनुसार जिल्ला प्रशासन कार्यालयबाट दुई हजार ८२४ र इलाका प्रशासन कार्यालय माडीबाट २३८ जनाले वंशजका आधारमा नागरिकता लिएका छन् ।
जिल्ला प्रशासन कार्यालयबाट नागरिकता लिनेमा एक हजार ४१८ महिला र एक हजार ४०६ पुरुष छन् । माडीबाट नागरिकता लिनेमा १२२ महिला र ११६ पुरुष रहेका छन् ।
यस अवधिमा जिल्ला प्रशासन कार्यालयबाट १५ महिलाले वैवाहिक अङ्गीकृत र ११ जनाले अङ्गीकृत नागरिकता प्राप्त गरेका छन् । अङ्गीकृत नागरिकता लिनेमा सात महिला र चार पुरुष छन् । यस्तै, ३१ जनाले गैरआवासीय नेपाली नागरिकता प्राप्त गरेका छन् । उनीहरूमध्ये नौ महिला र २२ पुरुष छन् । माडीबाट एक महिलाले वैवाहिक अङ्गीकृत र एक जनाले अङ्गीकृत नागरिकता प्राप्त गरेका छन् ।
तीन महिनामा जिल्ला प्रशासन कार्यालयबाट ६ हजार ११६ र इलाका प्रशासन कार्यालय माडीबाट ६५० नागरिकताको प्रतिलिपि जारी गरिएको छ । जिल्ला प्रशासन कार्यालयबाट प्रतिलिपि लिनेमा दुई हजार ९८७ महिला, तीन हजार १२८ पुरुष र एक अन्य छन् । माडीबाट प्रतिलिपि लिनेमा ३२३ महिला र ३२७ पुरुष रहेका छन् ।
यसैगरी, जिल्ला प्रशासन कार्यालयबाट २८ जनाले नागरिकता परित्याग गरेका छन् । नागरिकता परित्याग गर्नेमा १० महिला र १८ पुरुष छन् भने चार जनाको नागरिकता रद्द गरिएको छ ।
जिल्ला प्रशासन कार्यालयबाट तीन महिनामा ११ हजार ९९७ जनाको राष्ट्रिय परिचयपत्रका लागि नयाँ विवरण दर्ता गरिएको छ भने चार हजार ३७० वटा परिचयपत्र वितरण गरिएको छ । राहदानीका लागि पाँच हजार ८५२ जनाको सिफारिस गरिएको र चार हजार २४३ वटा राहदानी वितरण गरिएको सूचना अधिकारी विकले जानकारी दिए ।
यस अवधिमा ३२६ जनाको नाबालक परिचयपत्रका लागि नयाँ दर्ता गरिएको र ११ वटा प्रतिलिपि जारी गरिएको छ । कार्यालयबाट ३१६ वटा जातीय प्रमाणित, ३१७ वटा भारतीय पेन्सन सिफारिस, १२५ वटा व्यक्ति प्रमाणित र एक हजार ११४ वटा अन्य सिफारिससम्बन्धी काम भएका छन् ।
यता, इलाका प्रशासन कार्यालय माडीबाट असोज मसान्तसम्म एक हजार २५५ जनाको राष्ट्रिय परिचयपत्रका लागि नयाँ विवरण दर्ता गरिएको छ भने ७४८ वटा परिचयपत्र वितरण गरिएको छ । सोही अवधिमा १० वटा नाबालक परिचयपत्रका लागि नयाँ दर्ता र २३ वटा जातीय प्रमाणितसम्बन्धी काम भएका छन् ।







