
सिरहा । सिरहाको लहान नगरपालिकाले विपन्न दलित र मुसहर समुदायका मृतक परिवारलाई किरिया खर्च र राहत सामग्री दिएर सहयोग गरेको छ। एक हप्ताको अन्तरमा बाबुआमा गुमाएका लहान-१५, लङ्ग्राहा मुसहरी टोलका शिवशङ्कर सदायलाई नगरपालिकाले आइतबार सहयोग गरेको हो ।
७० वर्षीय बौधु सदाय र क्यान्सर पीडित उनकी श्रीमती कुमारीको निधनपछि दैनिक ज्यालादारी गर्ने शिवशङ्करलाई नगरपालिकाको सहयोगले ठूलो राहत मिलेको छ । नगर प्रमुख महेश चौधरीले स्वयं पीडितको घरमा पुगेर एक क्विन्टल चामल, दाल, नून, तेल लगायतका खाद्यान्न र किरिया खर्चका लागि जनही पाँच/पाँच हजार रुपैयाँ नगद दिएका थिए।
यस्तै, लहान-२४, मल्हन मुसहरी टोलमा पनि चार दिनअघि निधन भएका ७८ वर्षीय तेजीलाल सदायको परिवारलाई नगर प्रमुख चौधरीले राहत सामग्री र नगद सहयोग दिएका छन् ।
नगर प्रमुख चौधरीले नगरपालिकाभित्रका दलित, विपन्न तथा मुसहर समुदायमा कसैको मृत्यु भएमा नियमित रूपमा राहत तथा सहयोग कार्यक्रम चलाइरहेको बताएका छन् । उनले 'सामाजिक न्याय केवल योजनामा होइन, व्यवहारमा देखिनुपर्छ' भन्दै हरेक दुःखद घडीमा साथ दिने प्रयास गरेको जनाए । नगरपालिकाले आगामी दिनमा यस्ता सहयोगलाई अझ संस्थागत र व्यवस्थित गर्ने बताएको छ । रासस