
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले तिहार, म्ह: पूजा, नेपाल संवत्को नयाँ वर्ष ११४६ र छठ पर्वको अवसरमा सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गर्दै शान्ति, समृद्धि र सुशासनको आकाङ्क्षा पूरा गर्न राष्ट्रिय सङ्कल्पका साथ अघि बढ्न आग्रह गरेकी छन् ।
आज जारी गरिएको शुभकामना सन्देशमा उनले कठिन परिस्थितिमा एकताबद्ध रहने नेपाली मौलिक संस्कृति नै भएको उल्लेख गर्दै ‘कुनै पनि भ्रममा नपरी हामी सबै मिलेर निराशा र अन्धकारको अन्त्य गर्दै नयाँ नेपालको उज्यालो भविष्य निर्माणतर्फ एकजुट होऔँ’ भनेकी छन् ।
प्रधानमन्त्री कार्कीले छ महिनाभित्र स्थिर सरकार दिने प्रतिज्ञासहित फागुन २१ गते स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न सरकार दत्तचित्त रहेको बताएकी छन्। साथै, सुशासन कायम गर्ने, भ्रष्टाचारविरुद्ध ठोस कदम चाल्ने र जेनजी आन्दोलनका क्रममा भएका दमन तथा हिंसाको निष्पक्ष छानबिन गर्ने कार्य सरकारको प्राथमिक जिम्मेवारी रहेको स्पष्ट पारेकी छन् ।
सन्देशमा भनिएको छ, ‘भदौको महान् जेनजी आन्दोलनले सरकारलाई सुम्पेको भरोसा र दायित्वको सम्मान गर्दै समावेशी, पारदर्शी र उत्तरदायी शासनको मार्ग अवलम्बन गर्ने प्रतिबद्धता सरकारले लिएको छ ।’
यी पर्वहरूलाई जीवनमा आशा, विश्वास र समृद्धिको प्रतीक तथा अन्धकारमाथि उज्यालोको विजयका रूपमा लिइएको उनले उल्लेख गरेकी छन् । रासस