
झापा । मेची भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासिक (साउन, भदौ र असोज) अवधिमा लक्ष्यको ९५ प्रतिशत राजस्व असुली गरेको छ ।
पूर्वी नाका काँकडभिट्टामा रहेको भन्सार कार्यालयले यस अवधिमा ४ अर्ब ३६ करोड २८ लाख ५५ हजार रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य लिएकोमा ४ अर्ब १५ करोड २० लाख ८ हजार रुपैयाँ असुली गर्न सफल भएको कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाइँले जानकारी दिए ।
सबैभन्दा बढी राजस्व आयातित सामानको भन्सार महसुलतर्फ १ अर्ब ८० करोड ५३ लाख ७९ हजार रुपैयाँभन्दा बढी सङ्कलन भएको छ। यसैगरी, मूल्य अभिवृद्धि करतर्फ १ अर्ब ४९ करोडभन्दा बढी राजस्व उठेको छ ।
जेनजी आन्दोलनबाट प्रभावित भए पनि गत असोज महिनामा मात्रै भन्सारले मासिक लक्ष्यभन्दा बढी राजस्व असुली गरेको छ। असोज महिनामा १ अर्ब ५० करोड ४९ लाख २४ हजार रुपैयाँको लक्ष्य लिएकोमा १ अर्ब ५२ करोड २४ लाख ९० हजार रुपैयाँ असुली गरी मासिक लक्ष्यको १०१ प्रतिशत सफलता हासिल भएको भन्सार कार्यालयले जनाएको छ । रासस