Khabar Out
फिलिपिन्सको दक्षिणपूर्वी तटमा ७.४ म्याग्निच्युडको भूकम्प, सुनामीको चेतावनी

काठमाडौं । फिलिपिन्सको दक्षिणपूर्वी तटमा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको अमेरिकी भौगर्भिक सर्वेक्षणले जनाएको छ । स्थानीय अधिकारीहरूले यसबाट सुनामीका छालहरू उत्पन्न हुनसक्ने भन्दै चेतावनी जारी गरेका छन् ।

अमेरिकी भौगर्भिक सर्वेक्षणका अनुसार, भूकम्प मिन्डानाओ टापुको पूर्वी भागमा, टापुको राजधानी दाभाओबाट करिब १२३ किलोमिटर टाढा र जमिनको सतहबाट ५८.१ किलोमिटर गहिराइमा गएको थियो । ठूलो क्षतिको विवरण प्राप्त भएको छैन ।

फिलिपिन्सको भूकम्प तथा ज्वालामुखी विज्ञान संस्थानले जीवनलाई खतरामा पार्नसक्ने उचाईका विनाशकारी सुनामी छालाहरू आउनसक्ने जनाएको छ । 

संस्थाले पूर्वी र दक्षिणी फिलिपिन्सका तटीय क्षेत्रका बासिन्दाहरूलाई तत्काल सुरक्षित स्थानमा सर्न आग्रह गरेको छ । 

फिलिपिन्सका केही भागहरूमा एकदेखि तीन मिटर उचाईका छालहरू देखिन सक्ने सम्भावना छ । 

इन्डोनेसियाका केही तटीय क्षेत्रहरू र पापुवा न्यू गिनीमा समेत ३० सेन्टिमिटरदेखि एक मिटर उचाईमा छाल देखा पर्नसक्ने बताइएको छ ।

फिलिपिन्स ‘रिङ अफ फायर’ नामक भूकम्पीय जोखिमयुक्त क्षेत्रमा अवस्थित छ । यो प्रशान्त महासागर वरिपरि फैलिएको करिब ४० हजार किलोमिटर लामो भूकम्पीय फल्ट लाइनहरूको घेरा हो, जहाँ विश्वका आधाभन्दा बढी सक्रिय ज्वालामुखीहरू छन् । र, नियमित रूपमा शक्तिशाली भूकम्पहरू आइरहन्छन् । सीएनएन

प्रकाशित मिति: शुक्रबार, असोज २४, २०८२  ०९:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update