
काठमाडौं । विश्व बैंकले आर्थिक वर्ष २०८२/८३ मा नेपालको आर्थिक वृद्धिदर २.१ प्रतिशत हुने प्रक्षेपण गरेको छ । मंगलबार (असोज २१) साउथ एसिया डेभलपमेन्ट रिपोर्ट सार्वजनिक गर्दै आर्थिक वर्ष ०८२/८३ मा २.१ र त्यसपछि २०८३/८४ मा ४.७ प्रतिशत आर्थिक वृद्धिदर हासिल हुने प्रक्षेपण गरिएको हो ।
हालैको ‘जेनजी’ आन्दोलन र त्यसको असरलाई समेत ध्यानमा राख्दै आर्थिक वृद्धिदरको प्रक्षेपण गरिएको विश्व बैंकको प्रतिवेदनमा उल्लेख छ । विश्व बैंकले यसअघि चालु आर्थिक वर्षमा ५.२ र त्यसपछिको सालमा ५.५ प्रतिशत आर्थिक वृद्धिदर हुने आकलन गरेको थियो । तर, पछिल्लो परिस्थितिलाई निहाल्दै विश्व बैंकले त्यसलाई घटाएको हो ।
पछिल्लो आन्दोलनलाई विश्व बैंकले शासन प्रणालीप्रतिको असन्तुष्टि र मुलुकमा अवसर अभावको उपजका रूपमा अर्थ्याएको छ । देशमा बढेको भ्रष्टाचार, व्यावसायिक वातावरण बन्न नसक्दा छिमेकी मुलुकमा जस्तो नेपालमा विकास हुन नसकेको विश्व बैंकको ठहर छ ।
प्रतिवेदनमा विश्वव्यापी आर्थिक सुस्तता, व्यापार नीतिबारे अनिश्चितता, सामाजिक अशान्ति र कृत्रिम बुद्धिमत्ता (एआई)जस्ता प्रविधिले श्रम बजारमा ल्याउने चुनौतीलाई प्रमुख जोखिमका रूपमा देखाइएको छ ।
विश्व बैंकका दक्षिण एसियाका उपाध्यक्ष जोहानेस जुट्टले प्रतिवेदनमा भनेका छन्, “दक्षिण एसियामा ठूलो सम्भावना छ, तर देशहरूले जोखिमलाई समयमै सम्बोधन गर्नुपर्छ । एआईको फाइदा लिन र व्यापारका अवरोध घटाउन सके देशहरूले उत्पादकत्व बढाउन, निजी लगानी ल्याउन र नयाँ रोजगारी सिर्जना गर्न सक्छन् ।”
विश्व बैंकका अनुसार, सेवा क्षेत्रमा भने तुलनात्मक रूपमा कम शुल्क भएका कारण विगत दशकमा रोजगारीको तीनचौथाइ वृद्धि भएको छ । यस्तै, चरणबद्ध रूपमा शुल्क घटाएर व्यापार सम्झौता विस्तार गर्न सके निजी लगानी र रोजगारी दुवै बढ्न सक्ने प्रतिवेदनमा उल्लेख छ ।
विश्व बैंकका अनुसार, दक्षिण एसियाको आर्थिक वृद्धि यो वर्ष ६.६ प्रतिशत हुने अनुमान छ । सन् २०२६ मा दक्षिण एसियाको आर्थिक वृद्धि घटेर ५.८ प्रतिशतमा झर्ने प्रक्षेपण छ । यो अघिल्लो प्रक्षेपणभन्दा ०.६ प्रतिशत कम हो । न्युज एजेन्सी नेपाल