Khabar Out
‘जेनजी’ प्रदर्शनमा हिंसा र लुटपाटपछि मादागास्करमा सरकार विघटन

काठमाडौं । विगत केही दिनदेखि पानी र बिजुली कटौतीविरुद्ध युवाको नेतृत्वमा भइरहेको प्रदर्शनपछि मादागास्करका राष्ट्रपतिले आफ्नो सरकार विघटन गरेको बताएका छन् ।

सोमबार राष्ट्रका नाममा टेलिभिजनबाट सम्बोधन गर्दै राष्ट्रपति एन्ड्री राजोएलिनाले भने, “यदि, सरकारका सदस्यले उनीहरूलाई तोकिएको काम पूरा गर्न सकेनन् भने हामी स्वीकार गर्छौं र त्यसका निम्ति क्षमा चाहन्छौँ ।”

‘जेनजी’ प्रदर्शनअन्तर्गत ‘हामी बाँच्न चाहन्छौँ, जिउँदो रहने मात्र होइन’ भन्ने नाराका साथ बिहीबारदेखि मादागास्करका सहरमा हजारौँ युवा प्रदर्शनकारी सडकमा उत्रिएका छन् ।

संयुक्त राष्ट्रसंघका मानवअधिकार प्रमुखले सुरक्षा बलले त्यहाँ गरेको अनावश्यक बल प्रयोगको निन्दा गरेका छन् । प्रदर्शनका क्रममा कम्तीमा २२ जनाको मृत्यु र १०० जना घाइते भएका उनले बताएका छन् ।

मादागास्करको परराष्ट्र मन्त्रालयले राष्ट्रसंघको तथ्यांकलाई अस्वीकार गरेको छ । उक्त तथ्यांक अफवाह वा गलत सूचनामा आधारित रहेको आरोप लगाएको छ ।

विरोध प्रदर्शन राजधानी अन्तानानारिभोबाट सुरु भएर हाल देशका आठ सहरमा फैलिएको छ । हिंसा र लुटपाटपछि अन्तानानारिभोमा साँझदेखि बिहानसम्म कर्फ्यु लगाइएको थियो । त्यसक्रममा भीडलाई तितरबितर पार्न प्रहरीले रबरका गोली र अश्रुग्यास प्रहार गरेको थियो ।

गएको साता मादागास्करका राष्ट्रपतिले आफ्नो काम राम्ररी गर्न नसकेको भन्दै ऊर्जामन्त्रीलाई बर्खास्तको घोषणा गरेका थिए । तर, प्रदर्शनकारीले राष्ट्रपति र बाँकी मन्त्रीले पनि राजीनामा दिनुपर्ने माग गरेका थिए ।

सोमबार फेरि हजारौँ मानिस सडकमा उत्रिएका थिए । “म बिजुली कटौती र पानी आपूर्तिको समस्याले उत्पन्न दुःख र कठिनाइ बुझ्छु,” राजोएलिनाले सरकारी टेलिभिजनमार्फत सम्बोधनका क्रममा भने ।

उनले प्रधानमन्त्री र सरकारको कार्यभार समाप्त गरेको बताए । अर्को प्रधानमन्त्रीका निम्ति आवेदन तीन दिनभित्र लिइने र त्यसपछि नयाँ सरकार गठन गरिने उनले उल्लेख गरे । राजोएलिनाले युवासँग वार्ता गर्न चाहेको पनि बताए ।

सन् १९६० मा स्वतन्त्रता प्राप्त गरेयता मादागास्करमा धेरैपटक विद्रोह भइसकेको छ । त्यसमा सन् २००९ को जनप्रदर्शन पनि समावेश छ, जसले पूर्वराष्ट्रपति मार्क राभालोमानानालाई राजीनामा दिन बाध्य पारेको थियो र राजोएलिना सत्तामा आएका थिए ।

हालको प्रदर्शन २०२३ मा तेस्रोपटक निर्वाचित भएपछि राष्ट्रपतिले सामना गरेको सबैभन्दा ठूलो चुनौती हो । बीबीसी

प्रकाशित मिति: मंगलबार, असोज १४, २०८२  १०:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update