Khabar Out
मुस्ताङबाट ३५ करोडभन्दा बढी मूल्यका भेडाच्यांग्रा निकासी

मुस्ताङ । यसवर्ष मुस्ताङबाट करिब ३५ करोडभन्दा बढी मूल्यका भेडाच्यांग्रा निकासी गरिएको छ । यहाँको भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रका अनुसार दसैँका लागि मुस्ताङसहित कर्णाली प्रदेशको डोल्पा, मुगु र जुम्लाबाट मुस्ताङको घाँसा हुँदै बेनी–जोमसोम कोरला सडकमार्गबाट १४ हजार ६६८ भेडाच्यांग्रा निकासी गरिएको हो । 

केन्द्रका पशु चिकित्सक डा. लालमणि अर्यालका अनुसार यहाँबाट निकासी भएका भेडाच्यांग्रा र रमा (च्यालु)को औसत अनुमान गर्दा रु ३५ करोडभन्दा बढीको च्यांग्रा निकासी भएको हो । 

यसवर्ष निकासी भएका भेडाच्यांग्रामध्ये सात हजार ६६८ वटा स्थानीय र ६ हजार ८६८ वटा भेडाच्यांग्रा डोल्पा, मुगु र जुम्लाका रहेका उनले बताए । 

यसमा मुस्ताङको हिस्सा अनुमानित २० करोड रहेको छ ।

जिल्ला बाहिरका व्यापारीले किसानको खोरमै रोजेर लिने च्यांग्राको मूल्य ३५ हजार, भेडाको २८ हजार र रमा (च्लालु) च्यांग्राको मूल्य १२ हजार रहेको जनाइएको छ । 

यहाँबाट जिल्ला बाहिर निकासी गरिएका भेडाच्यांग्रा अझै बढी हुनसक्ने स्थानीय जानकारहरूको भनाइ छ । विज्ञ केन्द्रले पशु निरोगिताको परीक्षण गर्दा च्यांग्रा धनीले एकिन संख्या नबताउने भएकाले यो संख्या बढी हुनसक्ने उनीहरूको तर्क छ । रासस

प्रकाशित मिति: शुक्रबार, असोज १०, २०८२  १३:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update