Khabar Out
कोरला जोड्ने घमी खोला पुल सात वर्षदेखि अलपत्र

मुस्ताङ। उत्तर/दक्षिण व्यापारिक मार्ग विस्तारित आयोजनाअन्तर्गत कालीगण्डकी करिडोर (बेनी–जोमसोम–कोरला) सडक आयोजना मार्फत ठेक्का सम्झौता भएको मुस्ताङको लोघेकर दामोदरकुण्ड–२ घमी खोलामा निर्माणाधीन पक्की पुल अलपत्र परेको छ । 

यहाँको घमी खोलामा निर्माणाधीन पुल ठेक्का सम्झौता भएको सात वर्ष बितिसक्दासमेत सम्पन्न हुन सकेको छैन ।

विसं २०७५ पुस १६ गते रु छ करोड ८० लाख लागतमा निर्माण कम्पनी हिमढुङ ठोक्कर एण्ड इमोटल जेभीले आयोजनासँग ठेक्का सम्झौता गरेको थियो । तीन वर्ष सुरुआती ठेक्का सम्झौता भएको यहाँको घमी खोला पुल २०७८ साल पुस ९ गते सम्पन्न भइसक्नुपर्ने थियो । तर, निर्माण कम्पनीको चरम ढिलासुस्तीका कारण यहाँको पुल सम्पन्न हुन नसकी पटकपटक म्याद थप हुँदै आइरहेको छ ।

एक स्पान मात्रै रहेको यहाँको घमी खोला पुलको लम्बाइ ४० मिटर र फुटपाथ र नालीसहित ११ मिटर चौडा हुने गरी ठेक्का सम्झौता भएको आयोजनाले जनाएको छ ।

यहाँको पुल निर्माणलाई पूर्णता दिन आयोजनाले निर्माण कम्पनीलाई यसअघि पटकपटक ताकेता गरेको भए पनि निर्माण कम्पनीले पुल निर्माणमा अग्रसरता नदिँदा यहाँको पुल अलपत्र पर्दै आइरहेको थियो । यहाँ २०७९ साल निर्माण कम्पनीले ठेक्का मोबिलाइजेसनवापत लिएको रु ७० लाख ५० हजार आयोजनालाई फिर्ता लिएको थियो । यहाँ प्रतिकूल मौसम र हिमपातका कारण काम हुन नसकेको जनाउँदै निर्माण कम्पनीले पुलको सम्पन्न अवधि थप गर्दै आइरहेको थियो ।

पछिल्लो समय गत वैशाखमा निर्माण कम्पनीले पुल निर्माणका लागि केही काम अघि बढाएको भए पनि त्यसयताको समयमा कुनै काम अघि बढ्न नसकेको लोघेकर दामोदरकुण्ड गाउँपालिका अध्यक्ष लोप्साङ छोम्फेल विष्टले जानकारी दिए । 

उनले बहुचर्चित उत्तरी कोरला नाका पूर्ण रूपमा सञ्चालनमा आइसकेको अवस्था रहँदासमेत हालसम्म पुल सम्पन्न हुन नसक्नु दुर्भाग्य भएको बताए । निर्माण कम्पनीले चासो दिएर काम अघि बढाएमा दुई महिनाभित्रै पुल सम्पन्न हुने अध्यक्ष विष्टको भनाइ छ ।

कोरला नाका जोड्ने मुस्ताङको घमी खोला पुलको पछिल्लो भौतिक प्रगति ७५ प्रतिशत पुगेको आयोजनाका सूचना अधिकारी बाबुसाहेवकुमार बैठाले जानकारी दिए । पुलको दायाँबायाँ फाउन्डेसन ढलानसहित पुल ढलानका लागि सटिङको काम सकिएको आयोजनाका सूचना अधिकारी बैठाले उल्लेख गरे ।

यहाँको घमी खोला पुलको पछिल्लो थप भएको म्यादसमेत सकिएर निर्माण कम्पनीलाई ठेक्का सम्झौता लागतको दैनिक (०.०५) प्रतिशत हुने गरी २०० दिनको म्याद दिइएको सूचना अधिकारी बैठाको भनाइ छ ।

जरिवाना रकम तोकिएको म्यादभित्र पनि निर्माण कम्पनीले पुलको काम अघि नबढाएमा ठेक्का धरौटी तानेर ठेक्का सम्झौता तोड्ने प्रक्रिया अघि बढाइने उहाँले बताए।

यहाँको जोमसोम–कोरला सडक मार्गमा पर्ने अधिकांश शाखा नदीमा पक्की पुल निर्माण भइसकेको भए पनि घमी खोला पुल निर्माण पूरा नहुँदा यस पटक उपल्लो मुस्ताङको कोरला नाका पुगेर मालवस्तु ढुवानी गर्ने कन्टेनर र विद्युतीय सवारीलाई आवतजावतमा समस्या उत्पन्न भएको छ । रासस

प्रकाशित मिति: बिहीबार, असोज ९, २०८२  ०९:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update