Khabar Out
अब अन्तरिक्षमा युद्ध हुनेछ ? अमेरिका, रुस, चीन र भारतमध्ये को छ शक्तिशाली ?

काठमाडौं । अमेरिकी सहर कोलोराडो स्प्रिङ्समा अप्रिल २०२५ मा भएको अन्तर्राष्ट्रिय अन्तरिक्ष उद्योग सम्मेलनले अन्तरिक्ष अब युद्ध क्षेत्रको दायरामा आएको स्पष्ट पारेको छ । 

अमेरिका यो क्षेत्रमा एक प्रमुख शक्ति हो र चीन पनि अत्याधुनिक स्याटेलाइट (उपग्रह)सहित एक ठूलो शक्ति बन्दै छ । चीनले अन्तरिक्षमा स्याटेलाइट नष्ट गर्नसक्ने हतियारहरूको परीक्षण गरिरहेको छ । रूसले पनि यो क्षमता प्रदर्शन गरिसकेको छ ।

स्याटेलाइट युद्धको खतरा
डा. राजी राजगोपालन अस्ट्रेलियन स्ट्रेटेजिक इन्स्टिच्युटकी वरिष्ठ शोधकर्ता र अन्तरिक्ष सुरक्षा मामिलाकी विज्ञ हुन् । उनका अनुसार हाल पृथ्वीको कक्षामा ११ हजार ७०० सक्रिय स्याटेलाइट छन् । यी स्याटेलाइटहरू अरबौँ मानिसहरूको दैनिक संचारका लागि महत्वपूर्ण छन् । तीमध्ये करिब ६३० स्याटेलाइट सेनाको सुरक्षा कारबाहीमा प्रयोग गरिन्छन् । 

लगभग आधा स्याटेलाइट सैन्य प्रयोजनका लागि हुन्, जसमा करिब ३०० अमेरिकाका छन् । रूस र चीनसँग पनि धेरै सैन्य स्याटेलाइट छन् । यी स्याटेलाइटहरूले सेनाको आँखा र कानको रूपमा काम गर्छन्, जसले उनीहरूको क्षमतालाई निकै बढाउँछ  

सन् १९९० को खाडी युद्धमा स्याटेलाइटहरूको भूमिका महत्वपूर्ण थियो, जहाँ जीपीएसले सैनिकहरू, ट्यांक र बख्तरबन्द गाडीहरूलाई सही बाटो देखाउन मद्दत गर्‍यो । यसलाई विश्वको पहिलो अन्तरिक्ष युद्ध पनि भनिन्छ ।

स्याटेलाइट प्रक्षेपण र अन्तर्राष्ट्रिय नियम
कुनै पनि देशले स्याटेलाइट प्रक्षेपण गर्नुअघि संयुक्त राष्ट्रकसंघको अन्तरिक्षसम्बन्धी संस्थालाई जानकारी दिनुपर्छ । स्याटेलाइटहरू आपसमा ठोक्किनबाट रोक्न सकियोस् भनेर यसमा स्याटेलाइटको प्रकार, प्रयोग, आयु र प्रक्षेपणस्थलको विवरण समावेश हुन्छ । यद्यपि, केही देशहरूले अहिले स्याटेलाइटको पूर्ण जानकारी दिन छोडेका छन् ।

सन् १९६२ मा अमेरिकाले अन्तरिक्षमा परमाणु बम परीक्षण गरेको थियो, जसले धेरै सञ्चार स्याटेलाइटहरूलाई क्षति पुर्‍याएको थियो । त्यसको पाँच वर्षपछि भएको बहुपक्षीय सन्धिले अन्तरिक्षमा परमाणु र रासायनिक हतियारहरूको तैनाथीमा प्रतिबन्ध लगाएको छ । 

अन्तरिक्षलाई सुरक्षित राख्न यो संस्थाले काम गरेको छ । तर पारम्परिक हतियारहरूको तैनाथी रोक्ने कुनै प्रावधान छैन, जुन एक ठूलो खतरा हो ।

पछिल्ला वर्षहरूमा अन्तरिक्षमा व्यावसायिक स्याटेलाइटहरूको संख्या बढेको छ । एलन मस्कको स्पेस एक्सजस्ता कम्पनीहरूका आठ हजारभन्दा बढी स्याटेलाइटहरू ब्रोडब्यान्ड इन्टरनेट र अन्य सुविधाहरूका लागि कार्यरत छन् । स्याटेलाइटहरूको बढ्दो संख्यासँगै देशहरूबीचको तनाव पनि बढिरहेको छ ।

जर्मन इन्स्टिच्युट फर इन्टरनेशनल एन्ड सेक्युरिटी अफेयर्सकी शोधकर्ता डा. जुलियन सुजका अनुसार, पृथ्वीमा हुने आक्रमण देख्न सकिन्छ । तर, अन्तरिक्षमा स्याटेलाइटहरूले के गरिरहेका छन् भन्ने जानकारी स्याटेलाइटबाट खिचिएका तस्बिर, रडार वा स्याटेलाइट ट्रयाकिङ डेटाबाट प्राप्त हुन्छ ।

शक्तिशाली राष्ट्रहरू र उनीहरूको अन्तरिक्ष क्षमता
अमेरिका, रूस, चीन र भारतजस्ता देशहरूसँग ठूलो संख्यामा सेनाहरू छन् । सबैले अन्तरिक्षमा अन्य स्याटेलाइटहरू नष्ट गर्नसक्ने हतियारहरू विकास गरिसकेका छन् । यी हतियारहरू व्यापक संहारका हतियार नभएकाले अन्तरिक्षमा तिनको परीक्षणमा प्रतिबन्ध छैन ।

अन्तरिक्षमा सबैभन्दा ठूलो शक्ति अमेरिका हो । यसले सन् २००८ मा आफ्नै स्याटेलाइट नष्ट गरेको थियो । ३७ अन्तरिक्ष विमानजस्ता योजनाहरूमा लगानी गरिरहेको छ । यसले जीपीएसको विकल्पको रूपमा लेजर प्रविधि पनि विकास गरिरहेको छ ।

सन् १९५७ मा पहिलो स्याटेलाइट छोडेर अमेरिकालाई पछि पारेको भए पनि रूस अहिले आफ्नो अन्तरिक्ष कार्यक्रममा अमेरिकाभन्दा पछि छ । 

युक्रेन युद्धपछि लागेका प्रतिबन्धले पनि यसको योजनालाई असर पारेको छ । अमेरिकाको स्याटेलाइटमाथिको निर्भरतालाई रूसले आफ्नो कमजोरी ठानेर स्याटेलाइटलक्षित हतियारहरू विकास गरिरहेको छ ।

सन् २०२४ मा १०० स्याटेलाइट छोड्ने लक्ष्य राखे पनि चीनले ३० मात्र पठाउन सक्यो । चीनले तीव्र गतिमा स्याटेलाइटलक्षित हतियारहरू विकास गरिरहेको छ । यसका स्याटेलाइटहरूमा अन्य स्याटेलाइटहरूको नजिक पुग्ने क्षमता विकसित भएको छ ।

स्याटेलाइटहरूबीचको टकराबको खतरा
अन्तरिक्षमा स्याटेलाइटहरू उच्च गतिमा घुमिरहेका हुन्छन् । यदि, तिनीहरू एकअर्कासँग ठोक्किए भने तिनीहरूका टुक्रा अन्तरिक्षमा फैलिन्छन् । एक सेन्टिमिटरको सानो टुक्रा पनि यदि तीव्र गतिमा घुमिरहेको छ भने त्यो ग्रेनेड जत्तिकै खतरनाक हुनसक्छ । यसले अन्तरिक्षको वातावरणलाई धेरै खतरनाक बनाउन सक्छ ।

भविष्यको अन्तरिक्ष प्रविधि र प्रतिरक्षा
वासिङ्टन युनिभर्सिटीको स्पेस ल एन्ड डेटा प्रोग्रामकी निर्देशक सादिया पैकरनेनका अनुसार, अन्तरिक्ष प्रविधि केवल रकेट र अन्तरिक्ष यानमा सीमित छैन । यसमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) र अटोनोमस रोबोटिक्सजस्ता नयाँ प्रविधिहरू समावेश छन् । 

एआइको मद्दतले सेनाले स्याटेलाइटबाट प्राप्त डाटाको द्रूत विश्लेषण गरी कारबाही गर्ने क्षमता हासिल गर्नेछ, जसले रक्षा क्षेत्रमा नयाँ आयाम थप्नेछ । अमेरिका र चीन यो प्रविधि विकासमा अरू देशहरूभन्दा धेरै अगाडि छन् ।
 
युद्धको विश्वव्यापी प्रभाव
डरहम युनिभर्सिटीका एस्ट्रो–पोलिटिक्सका एसोसिएट प्रोफेसर डा. ब्लेविन बोवेनका अनुसार अन्तरिक्षमा स्याटेलाइट युद्ध भएमा यसको नोक्सान र प्रभावको सही अनुमान लगाउन गाह्रो छ । जीपीएसजस्ता स्याटेलाइटहरू नष्ट भएमा, यातायात, वित्तीय सेवाहरू, मौसम पूर्वानुमान र कृषिमा गम्भीर असर पर्नेछ ।

यदि, कसैको स्याटेलाइटलाई जाम वा ह्याक गरियो भने यसको समाधान हुन सक्छ । तर, अन्तरिक्षमा सीधा आक्रमणको विकल्प सीमित छ । यस्तो अवस्थाको सामना गर्न देशहरूलाई वैकल्पिक स्याटेलाइटहरू तैनाथ गर्न वा पृथ्वीमा स्याटेलाइटबिना काम गर्नसक्ने उपकरणहरूको नेटवर्क बनाउन आवश्यक पर्नेछ । बीबीसी

 

 

प्रकाशित मिति: बुधबार, असोज १, २०८२  ०९:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update