Khabar Out
बाल सुधारगृहबाट भागेका ४८ जना पक्राउ

नेपालगन्ज । बाँकेका दुई बाल सुधारगृह र एउटा कारागारबाट भागेका ३४२ बाल र कैदीबन्दीमध्ये हालसम्म ४८ जनालाई पक्राउ गरिएको छ । प्रहरीले २९४ जना अझै फरार रहेकाले खोजी भइरहेको जनाएको छ ।

जिल्लाको वैजनाथ गाउँपालिकास्थित नौवस्ता बाल सुधारगृह र डुडुवाको जयन्दु बाल सुधारगृहबाट भागेका १९५ बालबन्दीमध्ये ३५ जनालाई पक्राउ गरिएको छ । नौवस्ता कारागारबाट भागेका १४७ कैदीबन्दीमध्ये १३ जनालाई पक्राउ गरिएको बाल सुधारगृह र नौवस्ता कारागारले जनाएको छ ।

डुडुवास्थित जयन्दु बालसुधार गृहका प्रमुख किशोर शर्माका अनुसार, ‘जेनजी’को प्रदर्शनका बेला सुधारगृहमा रहेका २२८ बालबन्दीमध्ये ११५ जना भागेका थिए । उनीहरूमध्ये २१ जना पक्राउ परेका छन् । अझै ९४ जनाको खोजी भइरहेको उनले जानकारी दिए ।

नौवस्ता बाल सुधारगृहका प्रमुख श्यामबहादुर रानाले यहाँ रहेका १७२ बालबन्दीमध्ये ८० जना भागेकामा १४ पक्राउ परेका उल्लेख गरे । बाँकेबाट ६ र दाङको लमहीबाट आठजना पक्राउ परेका उनको भनाइ छ । उक्त सुधारगृहका ६५ बालबन्दीको खोजी भइरहेको छ । 

नौवस्ता कारागारबाट फरार भएका १४७ कैदीमध्ये हालसम्म १३ जना पक्राउ परेका तथा १३४ को खोजी भइरहेको कारागारका प्रमुख जालन्धर भुसालले जानकारी दिए । उक्त कारागारमा ५८५ कैदीबन्दी थिए ।

यी ४८ जनामध्ये केही आफैँ फर्किएका र अधिकांशलाई खोजी गरी पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

अझै पनि फरार रहेका बालबन्दी र कैदीलाई फर्कन अनुरोध गरिएको जनाउँदै नफर्किए खोजी गरी पक्राउ गरिने प्रहरीले जनाएको छ । रासस

प्रकाशित मिति: आइतबार, भदौ २९, २०८२  ०९:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update