Khabar Out
संसदीय सुनुवाइ समिति सभापतिमा खतिवडा निर्विरोध चयन

काठमाडौँ ।  संघीय संसद् संसदीय सुनुवाइ समितिको सभापतिमा कांग्रेसका नेता रामहरि खतिवडा निर्विरोध चयन भएका छन् । समितिका ज्येष्ठ सदस्य पशुपतिशम्शेर जबराको अध्यक्षतामा शुक्रबार बसेको समितिको बैठकमा उनलाई निर्विरोध चयन भएको घोषणा गरिएको हो । नवनिर्वाचित खतिवडा नेपाली कांग्रेसका सांसद छन् । 

समितिका यसअघिका सभापति ईश्वरीदेवी न्यौपानेले राजीनामा दिएपछि रिक्त सभापति पदमा खतिवडाको मात्र उम्मेदवारी परेको थियो । बैठकमा कांग्रेस संसदीय दलका प्रमुख सचेतक श्यामकुमार घिमिरेले सांसद खतिवडालाई सभापति निर्वाचित गरियोस् भनी राखेको प्रस्तावलाई एमालेका संसदीय दलका मुख्य सचेतक महेशकुमार बर्तौलाले समर्थन जनाएका थिए ।

नेपाल विद्यार्थी संघबाट राजनीति सुरु गरेका सांसद खतिवडा हाल कांग्रेसको केन्द्रीय सदस्य छन् । यसअघि पनि उनी ओखलढुंगाबाट प्रतिनिधिसभा सदस्य थिए ।

केही समयअघिसम्म उनी राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिकै जिम्मेवारीमा थिए । निजामती विधेयकमा राखिएको कुलिङ अफ पिरियड व्यवस्थामा छलछाम भएपछि उनले सभापति पदबाट राजीनामा दिएका थिए ।

संवैधानिक व्यवस्थाअनुसार सभापतिको पदवहाली गर्नुअघि उनले आगामी सोमबार सभामुखसँग पद तथा गोपनियताको शपथ लिनेछन् ।

प्रकाशित मिति: शुक्रबार, भदौ २०, २०८२  २२:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update