Khabar Out
उखु किसानले अनुदान रकम प्राप्त गर्न थाले

काठमाडौँ । सरकारले उखु किसानलाई उत्पादन प्रोत्साहनस्वरुप दिने अनुदानबापतको करिब रु ७५ करोड रकम निकासा गरेको छ । 

देशभरका १३ जिल्लाका किसानले चिनी उद्योगमा उपलब्ध गराएको करिब दुई करोड १६ लाख क्विन्टल उखु बराबरको सो रकम किसानलाई पठाइएको हो ।

किसानलाई चिनी उद्योगले प्रतिक्विन्टल रु ५८५ र सरकारले रु ३० अनुदान दिने व्यवस्थाअनुसार सो रकम उपलब्ध गराइएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सूचना अधिकारी महानन्द जोशीले जानकारी दिए । 

उनका अनुसार रकम जिल्लास्थित कोष तथा लेखा नियन्त्रकको कार्यालयमार्फत किसानको बैंक खातामा भुक्तानी हुने व्यवस्था गरिएको छ । मन्त्रालयबाट पठाइएको रकम कतिपय किसानले प्राप्त गरिसकेका उनले जानकारी दिए ।

सरकारले अघिल्लो वर्ष प्रतिक्विन्टल रु ७० का दरले किसानलाई अनुदान रकम दिँदै आएको भए पनि बजेट अभावका कारण अनुदान रकम आधाले घटाएर प्रतिक्विन्टल रु ३५ कटौती गरेको थियो ।

सरकारले मन्त्रिपरिषद् बैठकबाट यसपटक उखु किसानलाई प्रतिक्विन्टल रु ३५ अनुदान उपलब्ध गराउने निर्णय गरेपछि प्राविधिक कारणले निकासामा ढिलाइ भएको थियो । 

किसानले रकम समयमै प्राप्त गर्न र उक्त प्रोत्साहन रकम कटौती नगर्न माग गर्दै आएका थिए ।सुनसरी सिराहा, सर्लाही, महोत्तरी, रौतहट, बारा, नवलपरासीलगायत जिल्लामा व्यावसायिक उखुखेती हुने गर्दछ ।

सरकारले किसानहरूलाई प्रोत्साहित गरी उखु उत्पादन वृद्धि गर्न अनुदान रकमको व्यवस्था गरेको छ । रासस

प्रकाशित मिति: बिहीबार, भदौ १९, २०८२  १६:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update